रूपन्देहीमा क्षतिको विवरण संकलन गरिँदै

भैरहवा– जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जेन–जी आन्दोलनका क्रममा भएको प्रदर्शनबाट सरकारी र निजी सम्पत्तिमा पुगेको क्षतिको विवरण संकलन गरिरहेको छ । सरकारी सम्पत्तिको प्रशासन र मातहत निकायबाट क्षतिको विवरण संकलन भइरहेको हो । भने, निजी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलनका लागि उद्योग वाणिज्य संघहरुलाई जिम्मा दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले कम क्षति पुगेका कार्यालयको विवरण सोमबार साँझसम्म प्राप्त भइसकेको बताए । बाँकी कार्यालयको पनि मंगलबार अपरान्हसम्म प्राप्त भइसक्ने उनले जनाए । जिल्लाका बुटवल र भैरहवाका सरकारी कार्यालय, व्यक्तिका निजी निवास र व्यवसायिक प्रतिष्ठानमा धेरै क्षति पुगेको छ । यसबाहेक सैनामैना नगरपालिकामा पनि सम्पत्ति नष्ट गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबार साँझसम्म सरकारी कार्यालय र सम्पत्तिमा पुगेको क्षतिको विवरण प्राप्त भइसक्ने जनाए । तोडफोड र आगजनीबाट क्षति भएका कार्यालयको प्रहरीले मुचुल्का उठाएर नोक्सानको विवरण संकलन गरिरहेको छ । लुम्बिनी प्रदेशमै रुपन्देहीमा सबैभन्दा बढी क्षति भएको छ । रुपन्देहीमा सरकारी र निजी गरी ६० वटाभन्दा बढी भवनमा लुटपाट, तोडफोड र आगजनी भएको छ ।
बुटवल उपमहानगरपालिकासहित ४ नम्बर वडा कार्यालय, प्रदेश प्रमुखको कार्यालय र निवास, उच्च अदालत तुलसीपुरको बुटवल इजलास, हुलाक, मालपोत, यातायात, सरकारी वकिल, बुटवल र भैरहवामा रहेका आन्तरिक राजस्व कार्यालयका भवनमा क्षति भएको छ । बुटवलमा रहेका राष्ट्रिय अनुसन्धान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय, इलाका प्रशासन कार्यालय, आन्तरिक राजश्व, राजश्व अनुसन्धान र सडक डिभिजन कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
भैरहवास्थित जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, आन्तरिक राजश्व, भन्सार, राष्ट्रपति चुरे संरक्षण कार्यालय, जिल्ला डिभिजन वन, लुम्बिनी सांस्कृतिक नगरपालिका, कञ्चन गाउँपालिका वडा नम्बर १, तिलोत्तमा नगरपालिका वडा नम्बर ५ कार्यालयमा तोडफोड र आगजनी भएको छ । सिद्धार्थनगर, सैनामैना र देवदह नगरपालिका कार्यालयमा पनि तोडफोड भएको छ । यस्तै, भैरहवा भन्सार कार्यालयमा पनि ठूलो क्षति भएको छ । यहाँ आगजनी र छोडफोड भएको छ ।
बुटवल बसपार्कस्थित अस्थायी प्रहरी बिट, भैरहवास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, मंगलापुर इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी बीट गल्लामन्डी तोडफोड र आगजनी भएको छ । प्रहरीको एउटा गाडी र २७ वटा मोटरसाइकलमा आगजनी भएको छ । केही मोटरसाइकल लुटिएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ५ वटा सरकारी गाडीमा पनि तोडफोड र आगजनी भएको छ । विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिका घरमा आगो लगाइएको छ ।
तिलोत्तमा–१, शंकरनगरस्थित लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीको र वडा नम्बर १ का वडाध्यक्ष फर्सुराम गिरीको घरमा आगो लगाइएको छ । तिलोत्तमा नगरपालिका–८, चार नम्बरस्थित पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका भाइ श्यामकृष्ण खाण र तिलोत्तमाका मेयर रामकृष्ण खाँणको घरमा आगजनी भएको छ । सैनामैनाका मेयर फणीन्द्र शर्मा र उपमेयर विना रानाको घरमा तोडफोड र आगजनी भएको छ ।
सैनामैनाकै पूर्वमेयर चित्रबहादुर कार्की, तिलोत्तमाका पूर्वमेयर एवं संघीय सांसद वासुदेव घिमिरे र देवदहका मेयर ध्रुवप्रसाद खरेलको घरमा लुटपाट, तोडफोड आगजनी भएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, सिद्धार्थनगरका पूर्वमेयर एवं राप्रपाका नेता सागरप्रताप राणा र संघीय सांसद सर्वेन्द्रनाथ शुक्लाको घरमा आगजनी भएको छ । एमाले नेता एवं लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठ र लुम्बिनी प्रदेशका खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयका घरमा पनि आगजनी भएको छ ।
रूपन्देहीका पाँच वटा ठूला होटल ड्रिम इन्टरनेसनल, ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, टुलिप, बोधी रेडसन र मौर्य होटलमा लुटपाट, तोडफोड र आगजनी भएको छ । सबैभन्दा बढी क्षति ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा भएको छ । बुटवल र भैरहवामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला र नगर कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ । बुटवल र भैरहवामा रहेका भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट भएको छ ।
प्रतिकृया दिनुहोस्