September 16, 2025, Tuesday
२०८२ भाद्र ३१ मंगलवार

जेनजी आन्दोलनपछि रास्वपामा असन्तुष्टि बढ्दोः सुमनाले पार्टी छाडिन, अरु पनि असन्तुष्ट

जेन–जी आन्दोलनको ‘साइड इफेक्ट’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बढ्ता परेको छ । सुमना श्रेष्ठको रास्वपा परित्यागले यसलाई थप पुष्टि गरेको छ ।

Advertisement

रास्वपाभित्र लामो समयदेखि किचलो भइरहेको थियो । एकातिर सभापति रवि लामिछानेका विवादास्पद कर्म, अर्कातिर वैचारिकीमा देखिएको फरकपनको असर रास्वपाभित्र बढ्दै थियो । त्यसको प्रत्यक्ष प्रभाव जेन–जी आन्दोलनमा पनि देखियो ।

जेन–जी आन्दोलनबाट फाइदा उठाउने प्रयास सभापति लामिछानेनिकट नेता र कार्यकर्ताले गरे । लामिछानेलाई नख्खु कारागारबाट निकाल्न ठूलो समूह लिएर जाने उनीनिकट नेता र कार्यकर्ता थिए । कारागार प्रशासन र प्रहरी प्रशासनमाथि आतंक सिर्जना गरेर लामिछाने जेलबाट निस्केका थिए । उनी जेलबाट बाहिर मात्र आएनन्, विजेताको शैलीमा निवाससम्म सवार भए । तर, जेन–जी समूहले उनको उक्त प्रवृत्तिको चर्को आलोचना गरे । अनि, सामाजिक सञ्जालमै उनीविरुद्ध ठूलो संख्यामा जेन–जीहरू उत्रिए ।

लगत्तै जेल प्रशासनले दिएको भन्दै एउटा पत्र सार्वजनिक गरे । जुन पत्र नक्कली भएको पुष्टि भयो । त्यो घटनाले जेन–जी आन्दोलनकारीहरू मात्र होइन, रास्वपाभित्रै चर्काे आलोचना भयो । पार्टीभित्रै विवाद बढ्न थालेपछि लामिछानेले गल्ती नगरेको मात्रै भनेन्, जेल फर्किन तयार रहेको समेत भने ।

२४ भदौपछि जेन–जी आन्दोलनको ‘स्टेक होल्डर’ भएको भन्दै रास्वपाका सभापति लामिछाने समूहले गरिरहेको दाबीमा सुमना श्रेष्ठले चिसो पानी खन्याइन् । उनले भिडियो सन्देश जारी गर्दै जेन–जी आन्दोलनको ‘स्टेक होल्डर’ रास्वपा नभएको मात्रै भनिन्, रास्वपामाथि गम्भीर प्रश्न नै उठाइन् । अर्थात, जेन–जी आन्दोलनलाई हेर्ने दृष्टिकोणले रास्वपाभित्र विभिन्न धार रहेको देखिन्छ ।

सुमना श्रेष्ठ जेन–जी आन्दोलनप्रति बढ्ता सक्रिय थिइन् । उनी जेन–जी आन्दोलनलाई रास्वपा र दुर्गा प्रसाईंहरूको चङ्गुलबाट बाहिर निकाल्नुपर्ने तर्क गरिरहेकी थिइन् । त्यही बेलामा जेन– जीहरूको ठूलो समूहले लामिछाने बहिष्कार अभियान चलाए ।

त्यसको क्षति अहिले लामिछाने र रास्वपाले व्यहोर्न थालेको छ । रास्वपाका नेताहरू अहिले तीनवटा समूहमा देखिएका छन् । प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री नियुक्ति हुनुअघिदेखि नै सोविता गौतमलगायतका केही नेता र सांसदहरू संसद विघटनको विपक्षमा उभिएका थिए । सुमना श्रेष्ठ, तोसिमा कार्कीलगायतका एक समूहचाहिँ संसद विघटनको पक्षका उभिएका थिए ।

त्यसमा उपसभापति स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत नेताहरूले दोहोरो भूमिका देखिएका थिए । उनीहरूलाई जेन–जी आन्दोलनको माया पनि लागेको र संसद विघटन पनि भन्न मन नभएको देखिन्थ्यो ।

अहिले संसद विघटन भइसकेपछि सुमनाले पार्टी नै परित्याग गरिन् । त्यसमा तोसिमाले निर्णय लिइसकेकी छैनन् । पार्टीभित्र समस्या रहेको सुमनाले आफ्नो सार्वजनिक अभिव्यक्तिमा स्वीकार गरेकी छिन् । सभापति लामिछानेमाथि पनि प्रश्न उठाएकी छिन् । त्यसैले, रास्वपाभित्र अब नेताहरूले ‘कस्तो धारणा बनाउँछन् ?’ भन्ने चासोको विषय बनेको देखिन्छ ।

अहिले सार्वजनिक सम्पत्ति तोडफोड गर्नेमा रास्वपाका नेताहरू नै सक्रिय भएको पनि देखिएको छ । त्यसैले, अहिले लामिछानेको भूमिका र कर्म थप छ्याङ्ग हुन पुगेको छ, भने रास्वपा आउने चुनावसम्ममा एकढिक्का हुने सम्भावाना पनि कमजोर भइरहेको देखिन्छ । पार्टीभित्र गुम्सिएको असन्तुष्टि र आक्रोश कुन रूपमा प्रकट हुन्छ ? भन्ने चासोचाहिँ भइरहेको छ ।