September 16, 2025, Tuesday
२०८२ भाद्र ३१ मंगलवार

गाडी दुर्घटना हुँदा भारतमा चार नेपालीको मृत्यु

भैरहवा– गाडी दुर्घटना हुँदा भारतमा चार नेपालीको मृत्यु भएको छ । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना भएको हो । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

Advertisement

भारतीय संचारमाध्यमका अनुसार मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट छन् । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । तीन जना मृतक एकै परिवारका हुन् ।

प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो । गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो । घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ ।