June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

रूपन्देही प्रशासनद्वारा तोडफोड, आगजनीमा संलग्नको फोटो–भिडियो माग

Advertisement

भैरहवा– जेन–जी आन्दोलनका नाममा रुपन्देही गत भदौं २४ गते भएको तोडफोड र आगजनीमा संलग्न पहिचान गरेर कारबाहीका लागि जिल्ला प्रशासनले चासो देखाएको छ । उक्त दिन बुटवलमा बिहान युवाहरुले प्रदर्शन गरेका थिए । तर, मध्यान्हपछि बुटवल र भैरहवामा अप्रत्यासित रुपमा तोडफोड र आगजनी गरिएको छ । त्यसबाट सरकारी र निजी क्षेत्रमा ठूलो नोक्सान पुगेको थियो ।

Advertisement

अवस्था सामान्य बनेपछि आक्रमणमा संलग्न व्यक्ति पहिचान गरेर कारबाहीका लागि जिल्ला प्रशासनले तोडफोड, आगजनी एवं लुटपाट हुनुअघि र भएपछिको रेकर्ड उपलब्ध गराउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गरेर सम्बन्धित प्रतिष्ठान तथा निजी भवन एवं पसलमा रहेका सीसीटिभी फुटेज, भिडियो रेकर्डलगायतका प्रविधियुक्त रेकर्ड सूचना प्रमाणका रूपमा महत्वपूर्ण हुने भएकाले आफूसँग भएका फोटो, भिडियो, जानकारी उपलब्ध गराउन आग्रह गरेको हो ।

पछिल्लो समय देशका विभिन्न भागमा भएका आन्दोलनका कारण भदौ २३ देखि २८ गतेसम्म रुपन्देहीका संघ, प्रदेश, स्थानीय तहका कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, उद्योग, वाणिज्य, व्यापार संघ एवं व्यावसायिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, उद्योग–धन्दा, कलकारखाना, निजी भवन, पसललगायतका संरचना र सवारीसाधनमा भएको तोडफोड, लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी प्रक्रियाअघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।

यस प्रकारका क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहलाई कानुन बमोजिम कारबाही गर्न आफूसँग भएका फोटो, भिडियो, जानकारी जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा उपलब्ध गराउन रानाले आग्रह गरे । जिल्लामा सार्वजनिक सेवा प्रवाहका कार्यालयलगायत विद्यालय, व्यापार, व्यवसाय सञ्चालनमा आइ जनजीवन सामान्य बन्दै गएको उनले बताए ।