निजामती कर्मचारीको योगदान प्रशंसायोग्यः सभामुख घर्तीमगर


दाङ– लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले राज्यको स्थायी सरकारका रूपमा परिचित निजामती सेवालाई अझै चुस्तदुरुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।
२२ औं निजामती सेवा दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले निजामती प्रशासन सुशासनको मेरुदण्ड भएकाले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन यसको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । सभामुख घर्ती मगरले शासन प्रणालीमा नैतिकता, सदाचार र इमानदारिता नै पारदर्शिता र सुशासनको आधार भएको प्रष्ट पारे ।
उनले निजामती सेवाका कर्मचारीलाई व्यावसायिक, सिर्जनशील र सदाचारयुक्त बनाउन अनुकुल वातावरण सिर्जना गर्नु सरकारको दायित्व भएको बताएका छन् । विगतमा राजनीतिक अस्थिरता, अदूरदर्शी नीति र नेतृत्वका कारण निजामती प्रशासन अन्यौल र असहज अवस्थामा परेको भए पनि हाल केही हदसम्म यसको निराकरण भएको उल्लेख गरेका् छन् ।
निजामती सेवाको झन्डै सात दशक लामो इतिहासमा कर्मचारीहरूले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गर्दै उनले मुलुकमा जुनसुकै शासन व्यवस्था रहे पनि सेवा प्रवाह र विकासमा निजामती प्रशासनको योगदान प्रशंसनीय रहेको जनाए ।
सभामुख घर्ती मगरले निजामती सेवा दिवसले सुशासनलाई सेवाग्राहीले आत्मसात् गर्ने गरी प्रत्याभूतिको सुनिश्चिततासँगै निजामती सेवालाई अझ व्यावसायिक, स्वच्छ, सक्षम, पारदर्शी, निष्पक्ष, भ्रष्टाचारमुक्त, जनमुखी र परिणाममुखी बनाउन मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरेका छन् ।








प्रतिकृया दिनुहोस्