नागरिक पनि जिम्मेवार र संवेदनशिल बन्ने की ?


भैरहवा– रातो कपडाले बेरेर पुलमाथि राखिएको बस्तुले मंगलबार कपिलबस्तुको यशोधरा गाउँपालिका क्षेत्रमा स्थानीयलाई त्रासदीमात्र बनाएन, जिल्लाको सिंगो सुरक्षा निकायलाई नै झण्डै तीन घण्टासम्म निकै तनाव बनायो । प्रबिधिसहित दक्ष जनशक्तिको परिचालन गरेर घण्टौंसम्मको अध्ययन र अनुसन्धान गरिएपछि बल्ल पछि पत्ता लाग्यो की, शंकास्पद मानिएको त्यो बस्तु पुजा सामाग्रीसहित बेरेर राखिएको पोको रहेछ ।
स्थानीयको त्रासदी हट्यो । सुरक्षा निकायमा कार्यरत सुरक्षा अधिकारी आफूमाथि आइपरेको चुनौतीको सामना गर्दै ढुक्क भए । उक्त पोको पुजा सामाग्रीसहितको सामान्य भए पनि यो घटनाले सर्वसाधारण नागरिक पनि जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश र पाठ सिकाएको छ । नागरिक जिम्मेवार नबन्दाको परिणामले नै अनाबश्यक रुपमा त्रासदी र तनाव बेहोर्नु पर्यो ।
बम वा कुनै बिष्फोटक पदार्थ हो की ? भन्ने संन्त्रास वरिपरिका सबै गाउँमा फैलियो । आवागमन अवरुद्ध भयो । घण्टौंसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरीको सयौं सुरक्षाकर्मीको परिचालन गर्नु पर्यो । नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गर्नु पर्यो । सुरक्षा निकायका उच्च अधिकारीलाइ त्यतिञ्जेल त्यही एउटा अनाबश्यक काममा अल्झिनु पर्यो ।
उक्त पोको, यदि कसैले पुजा गरिसकेको भए उपयुक्त स्थानमा व्यवस्थापन (नदीमा बगाइदिने वा खाल्डो खनेर गाड्ने) गरिदिएको भए कसैलाई पनि अनावश्यक रुपमा यो झमेला वेहोर्नु पर्दैनथ्यो । चलनचल्ती अनुसार अन्यत्र कतै राखेर पुलमा नराखिदिएको भए पनि यो समस्या आउने थिएन । यदि पुलमैं राख्नु पर्ने थियो भने पनि ती सबै पुजाका सामाग्री सहजै देखिने गरेर खुल्ला राखिदिएको भए यतिसम्मको झमेला बेहोर्नु पर्ने थिएन ।
‘शंकास्पद बस्तुको वारेमा जानकारी आएपछि हामीले त्यत्तिकै छाड्न मिल्दैन । सुरक्षा संवेदनशिलतालाई उच्च प्राथमिकता दिएर त्यसको सही ढंगबाट व्यवस्थापन गर्नैपर्ने हुन्छ’, जिल्ला प्रहरी कार्यालय, कपिलबस्तुका डीएसपी तथा सूचना अधिकारी रिपेन्द्रकुमार सिंह भन्छन्, ‘सबै नागरिक आआफ्नो तहमा जिम्मेवार बन्ने हो भने सुरक्षाप्रति यस खालको चुनौती आउने थिएन ।’
कपिलबस्तुको यशोधरा गाउँपालिका–१, रंगपुर जाने जमुवार खोला पुलमा मंगलबार बिहान भेटिएको शंकास्पद वस्तु भनिएको उक्त पोकामा नरिवल, काइयो, सुपारी, टीका लगायतका पूजासामाग्री पेला परेको थियो ।
ती सामाग्री राखिएको सानो माटोको घैंटोमा बाहिरबाट रातो कपडाले बेरेर राख्नाले स्थानीय त्रसित बनेका थिए । सेनाको बम डिस्पोजल टोली परिचालन गरि यान्त्रिक उपकरणले पहिचान गर्दा पूजासामाग्री भएको पुष्टि गरिएको हो ।
झण्डै ३ घण्टासम्म शंकास्पद बस्तु भनेर जताततै सनसनी खबर फैलिएर सयौंको संख्यामा सुरक्षा निकाय र स्थानीयको भीड लाग्दासम्म पनि पुजा गर्ने व्यक्ति वा त्यो सामान त्यहाँ राख्ने व्यक्तिले यस वारेमा यथार्थ कुरा सुरक्षा निकायलाई भनेर खुलाइदिन सक्थे । तर, त्यसो नगरेर रमिता मानेर हेर्नु नगरिक स्तरमा पनि गैरजिम्मेवारीपनको पराकाष्ठा नै हो ।
‘नांगो आँखाले पत्ता लगाउन नसकिएपछि जिल्ला हुँदै माथिल्लो तहसम्म रिपोर्टिङ गर्नु पर्यो । सबै सुरक्षा फोर्स केन्द्रित गर्नु पर्यो । र, सुत्र तथा सूचनादाताको परिचालन गर्नु पर्यो । यससँग सम्बन्धित प्रबिधि, उपकरण र दक्ष जनशक्तिको खोजी गरि परिचालन गर्नु पर्यो’, डीएसपी सिंह भन्छन्, ‘झण्डै ३ घण्टासम्म अनावश्यक रुपमा हैरानी र तनाव बोहोर्नु पर्यो ।’








लेखकको सम्वन्धमा