अनेरास्ववियुको सम्मान कार्यक्रममा कन्सल्टेन्सीको प्रचार गरेर विद्यार्थीलाई स्वदेशमै पढ्न आह्वान !

भैरहवा– रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग बाणिज्य संघको सभाहलमा शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भव्य कार्यक्रम गरी कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्यो । यस्तै, आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्यो ।
कार्यक्रममा उपस्थित सयौं विद्यार्थीहरुलाई अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष तथा एमालेका पोलिब्यूरो सदस्य खिमलाल भट्टराईले नेपालकै क्याम्पस र कलेज रोज्नुपर्ने आवश्यकता रहेको बताए । उनले विद्यार्थी र अभिभावक स्वयं जागरुक भई स्वदेशमै उच्च शिक्षा हासिल गर्नुपर्ने समय आएको धारणा राखे । कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई स्वदेशमै पढेर यही केही गर्न उनले सुझाए ।
भट्टराईले मात्रै होइन्, सम्मान कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले स्वदेशमै अध्धयन गर्न आग्रह गरेका थिए । तर, भट्टराई र अनेरास्ववियुका नगर, जिल्ला, प्रदेश र केन्द्रका नेताहरुले यस्तो यस्तो आह्वान गरिरहँदा उक्त कार्यक्रममा भने विरोधाभासपूर्ण दृश्य देखियो ।
कार्यक्रममा विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने कन्सल्टेन्सी ‘द नेक्स्ट’लाई प्रायोजकमा राखिएको थियो । मुख्य ब्यानरकै एक छेउमा ठूलो ब्यानर राखेर द नेक्स्टको प्रचारसँगै प्रशद्र्धन भइरहेको थियो । कन्सल्टेन्सीका कर्मचारीहरुले बाहिरपट्टी डेस्क राखेरै प्रचार गरिरहेका थिए ।
कार्यक्रममा सहभागी एक विद्यार्थी भन्छन्, ‘कन्सल्टेन्सीले आफ्नो प्रचार गरिरहेको थियो । कार्यक्रम हलमा बसेका बेला साथीहरुले कुराकानी गरेपछि मलाई पनि मुख्य ब्यानरकै छेउमा कन्सल्टेन्सीको ब्यानर नराखेको भए हुन्थ्यो जस्तो लागेको थियो ।’ उनले विद्यार्थीलाई स्वदेशमै पढ्न प्रोत्साहन गर्नुपर्ने बताए । यस्ता कार्यक्रममा कन्सल्टेन्सीलाई प्रायोजक नराखेको भए ठीक हुने उनले जनाए ।
अनेरास्ववियुका नगर अध्यक्ष केएल पाण्डेले कन्सल्टेन्सीको प्रचार गर्ने आफूहरुको उद्देश्य नरहेको जनाए । ‘हामीले द नेक्सटलाई भित्र कुनै किसिमको प्रत्येक्ष रुपमा प्रचार गर्न पाउनुहुन्न, केबल ब्यानर मात्र स्पोनसर गर्ने हो भनि जानकारी दिएका थियौं’, उनले भने, ‘सोहीअनुसार कार्यक्रम हलमा प्रचार गर्न दिएनौं । हामीले कन्सल्टेन्सीको कुनै प्रबद्र्धन पनि गरेका छैनौं । स्पोन्सर गरेका कारण ब्यानर मात्रै राख्न दिएका हौं ।’
उनले आफूहरुको उद्देश्य १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने र स्वदेशमै पढ्न जागरुक गराउने रहेको बताए । कार्यक्रममा सहभागी विद्यार्थीहरु र उनीहरुका केही अभिभावकले कन्सल्टेन्सीको प्रचारले कार्यक्रमको सन्देश र प्रायोजनबीच स्पष्ट विरोधाभास देखिएको भन्दै टिप्पणी गरेका छन् ।
लेखकको सम्वन्धमा