अबधि नपुग्दै बिचमै जागिर छाड्ने क्रम बढ्दै


भैरहवा– लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । बिगत चार वर्षमा २ हजार ८ सय ८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् ।
राज्यले ठुलो लगानी गरेर तालिम प्रदान गरी दक्ष जनशक्तिका लागि समक्ष बनाउँदै गए पनि कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिँदा सरकारलाई भने ठुलो आर्थिक भार पर्ने गरेको छ । कर्मचारीले घरायसी कारण देखाएर राजीनामा दिने गरे पनि पछिल्ला वर्ष सेवा प्रवाह गर्ने क्रममा धेरै तनाव बेहोर्नुपर्ने, त्यसको समाधान खोज्न नसक्ने, कतिपय कर्मचारीले निजामती सेवामा बढ्दै गएको विकृति, कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरी तथा झमेलाले गर्दा कर्मचारीले बिचैमा जागिर छाड्ने गरेको पाइएको छ ।
यसैगरि, श्रीमान् र श्रीमती दुवै जना सरकारी सेवामा रहँदा श्रीमान् एकातिर फरक फरक कार्यालय तथा स्थानमा हुँदा बालबच्चाको विचल्ली हुँदै गएको, कर्मचारीको कमजोर सेवा सुविधा, स्थानीय तहमा जनप्रतिनिधिले जबरजस्ती काम लगाउने प्रवृत्ति बढ्नुलगायत कारणले गर्दा पनि सेवा अवधि अगावै जागिर छाड्ने गरेका हुन् ।
राष्ट्रिय किताबखाना (निजामती) का अनुसार समय नपुग्दै राजीनामा दिने कर्मचारीमा कार्यालय सहयोगी, खरिदार, नायब सुब्बा र अधिकृतदेखि उपसचिवस्तरसम्मका छन् । आर्थिक वर्ष २०८१–८२ मा ५ सय ९८ जना कर्मचारीले पदबाट राजीनामा दिए । यो संख्या अघिल्लो २०८०–८१ मा ७ सय १४, २०७९–८० मा ८ सय ४ जना र २०७८–०७९ मा ७ सय ६९ जना कर्मचारीले सेवा अवधि बाकी छँदै राजीनामा दिएको किताबखानाको तथ्यांकमा उल्लेख छ ।
राष्ट्रिय किताबखाना (निजामती) का महादिर्नेशक श्रवणकुुमार पोखरेल कतिपय कर्मचारीले किताबखानामा निवेदन दिँदा घरायसी र यहाँको भन्दा अन्य क्षेत्रमा राम्रो अवसर पाएकाले कर्मचारीले राजीनामा दिएको कारण देखाउने गरेको बताउँछन् । उनका अनुसार, चार वर्षको राजीनामा दिने कर्मचारीको औषत विश्लेषण गर्दा वार्षिक रूपमा ७ देखि सात सयदेखि नौ सय कर्मचारीले बिचैमा राजीनामा दिने गरेका छन् । ‘यो संख्या धेरै हो । राज्यले ठुलो लगानी गरेर दक्ष र परिपक्व बनाएका कर्मचारीले बिचैमा जागिर छोड्दा राज्यलाई भने आर्थिक दायित्व बढ्दै गएको छ’, पोखरेलले भने, ‘यसको खोजी सरकारले गर्नुपर्छ ।’
कतिपय कर्मचारी डिभी परेर विदेश गएको, कतिपय कर्मचारी अध्ययनका क्रमममा विदेश गएको र उतै बस्नु पनि बिचैमा जागिर छाड्नुको अर्को मुख्य कारण हो । कर्मचारीले बिचैमा जागिर छोड्दा नयाँ कर्मचारी नियुक्त गर्न, ती कर्मचारीलाई परिपक्व बनाउन र पेन्सन भएपछि जागिर छोडेका कर्मचारीलाई पेन्सन दिनुपर्ने लगायत कारणले गर्दा राज्यलाई आर्थिक भार थपिँदै गएको छ ।
नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारी कतिपय कर्मचारीले सेवा अवधि र सेवाबाट अवकाश भइसकेपछि पनि विभिन्न झमेलामा पर्नुभन्दा बिचैमा जागिर छोड्ने गरेको बताउँछन् ।








प्रतिकृया दिनुहोस्