May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

धार्मिक पर्यटन प्रवर्द्धन गर्न देवदहमा ‘बाल गोपाल शिश महल’ निर्माण

Advertisement

भैरहवा– धार्मिक सम्पदा तथा ऐतिहासिक धरोहरहरुको विकास र धार्मिक पर्यटन प्रवर्द्धन गर्न महामानव बुद्धको मावली देवदहमा ‘बाल गोपाल शिश महल’ निर्माण गरिएको छ ।

Advertisement

स्थानीय दुर्गा मन्दिर संरक्षण समिति देवदह–७ ले उक्त शिश महलको निर्माण गरेको हो । महलको निर्माण लागत देवदह नगरपालिकाको ५ लाख र स्थानीयको ७० लाख गरी ७५ लाख रुपैयाँ छ । शिश महल लुम्बिनी प्रदेशमै पहिलो पटक देवदहमा निर्माण भएको समितिको दावी छ ।

दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष सीपी बस्यालले धार्मिक धरोहरहरुको विकास र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शिशमहल निर्माण गरेको बताएका छन् । उनका अनुसार, भगवान कृष्णको बाल्यकालको नाम ‘बालगोपाल’ बाटै शिश महल निर्माण गरिएको हो ।

यसले देवदह क्षेत्रको धार्मिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महामानव बुद्धको आमा मायादेवी, सानीआमा प्रजापति गौतमी र श्रीमती यशोधराको जन्म स्थलका रुपमा परिचित रहेको देवदह क्षेत्रको विकासका लागि देवदह नगरपालिकाले धार्मिक पर्यटनको गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने माग स्थानीय स्तरबाट उठेको छ ।

‘देवदहलाई सांस्कृतिक नगरको रुपमा विकास गर्दै देवदह क्षेत्रको पर्यटन विकाससँगै धार्मिक पूर्वाधारको विकास गर्न जरुरी छ’, बस्याल भन्छन्, ‘स्थानीय भक्तजनहरुलाई धार्मिक क्रियाकलापमा अग्रसर गराउँदै देवदह क्षेत्रमा धार्मिक बातावरण कायम राख्न आवश्यक छ ।’

बालगोपाल शिश महलभित्र कृष्णको बाल लिला, बाल गोपीनी लिला, कालिनाग मर्दन र कृष्ण विराट स्वरुप लगायतका कलालाई सुन्दरताका चित्रमा प्रस्तुत गरिएको छ । भारतको दिल्लीबाट तीन जना कालिगढ झिकाएर दुई महिनासम्म परिचालन गरिएको थियो ।

करिव दुई हजार वर्गफिटमा सिसाका स–साना टुक्रा जोडेर कालिगडले शिश महलमा कला भरेको जानकारी समितिका कोषाध्यक्ष दिनानाथ सापकोटाले दिए । गत भदौ १० गते शिलान्यास भएको शिश महल एक वर्षको अवधिमा निर्माण सम्पन्न गरि आउँदो साउन ३१ गते शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर उद्घाटनको तयारी गरिएको छ ।

शिश महलसँगै मन्दिर परिसरमा अर्जुनरथ, बुद्धविहार, वाटर फाउण्डेसन, रमणीय धार्मिक पार्क, विश्राम स्थल, आकर्षक प्रवेशद्वारलगायतका संरचनाहरु निर्माण गरिएको छ । उद्घाटनको दिन निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ । भदौ १ गतेबाट टिकट लाग्ने छ ।