रूपन्देहीमा चोरी बढ्यो, स्थानीय चिन्तित

भैरहवा– रुपन्देही दैनिक चोरीका घटना बढ्न थालेका छन् । घरमा कोही नभएको मौका छोपेर चोरको समूहले कयौंको धनमाल र गरगहना चोर्ने गरेका छन् । यस्ता घटनामा संलग्न चोरको समूह समात्न प्रहरीलाई सकसै पर्ने गरेको छ । यही आइतबार मात्रै भैरहवाको हाटबजारस्थित राजकुमार गुप्ताको घरमा चोरी र तोडफोड भयो । घटना राति करिब २ः३० बजे भएको बताइएको छ । घरमा कोही नभएको मौकामा गुप्ताको घरमा चोरी भएको थियो ।
घरधनीको परिवार विवाह समारोहमा भारत गएका बेला चोरको समूहले एक आना सुन, आदा किलो चाँदी, क्यामेरा र एक लाख पचास हजार चोरी गरेका छन् । चोरी भएको घर भने जिल्ला प्रशासन कार्यालयको पाँच सय मिटरको दुरीमा छ ।
‘चोरी भएको समयमा घर पूर्णरूपमा खाली थियो र चोरहरूले योजनाबद्ध तरिकाले मेरो घरमा चोरी गरेका हुन्’, पीडित गुप्ताले भने, ‘यसरी चोरी भइरहँदा सुरक्षामा चिन्ता थपिएको छ । प्रशासन कार्यालय नजिकै भएको चोरीले म जस्ता अन्य स्थानीय त्रसित हुनुहुन्छ ।’
आइतबारकै दिन अर्को ठाउँमा पनि चोरी भयो । जुन वडा प्रहरी कार्यालय नजिकै सिद्धार्थनगर नगरपालिका–१२ स्थित कुवेर सुवेदीको मिनी मार्केट हो । त्यहाँ भाडामा रहेका व्यापारिक प्रतिष्ठानमा राति चोरी र तोडफोड भयो । सुवेदीको घरको मुख्य च्यानल गेट फुटालेर प्रवेश गरेका व्यक्तिले तीन तोला सुनका गहना, आधा किलो चाँदीका सिक्कासाथै २० हजार नेपाली रुपैयाँ र ७ हजार भारतीय रुपैयाँ चोरी गरेका छन् । त्यसैदिन सुवेदी काठमाडौं गएका थिए । अन्य भाडामा रहेका कार्यालय र व्यपारिक सटरहरु पनि कोही थिएनन् ।
यी दुई उदाहरण मात्रै हुन् । भैरहवा क्षेत्रमा चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन् । यसले सहर मात्रै होइन्, गाउँलाई समेत त्रसित गराएको छ । बुटवल, भैरहवा, तिलोत्तमा, देवदह लगायतका ठाउँमा पनि चोरीका घटना भइरहेका छन् । घरमा कोही नभएको मौका छोपी चोरीको समूहले घर फोड्ने गरेका छन् ।
रुपन्देही प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को साउन २१ गतेसम्म जिल्लामा १२ वटा चोरी सम्बन्धी घटना भएका छन् । तीमध्ये ११ वटा मुद्दा दर्ता भइसकेका छन् भने १३ जना चोरी कसुरमा संलग्न व्यक्तिहरू पक्राउ परिसकेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले बताए । ‘प्रहरीले घटनामा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गरिरहेको छ’, उनले भने, ‘आमनागरिकलाई सुरक्षित, व्यपार–व्यवसायको सुरक्षा र भयरहित वातावरणमा दैनिकी चलाउन सहज गर्न शान्ति सुरक्षाका विषयमा प्रहरी चनाखो भएर काम गरिरहेको छ ।’
सापकोटाका अनुसार प्रहरीमा आर्थिक वर्ष २०८१–८२ मा मात्र १ सय ५५ वटा चोरीसम्बन्धी निवेदन दर्ता भएका थिए । तीमध्ये १ सय १४ वटा मुद्दा दर्ता भएका थिए भने बाँकी ४१ घटनामा अनुसन्धान जारी रहेको उनले बताए । उक्त आर्थिक वर्षमा चोरी कसुरमा संलग्न १ सय ९५ जना पक्राउ परेका छन् । जसमा १ सय ८८ जना पुरुष र ७ जना महिला छन् । प्रहरीका अनुसार चोरीमा संलग्न केही भारतीय छन् भने केही नेपालीहरु नै हुन् ।
लेखकको सम्वन्धमा