चौरी लेकमा आन्तरिक पर्यटक बढेपछि खुसी


रुकुम पूर्व — रुकुम पूर्व र बागलुङको सीमास्थल चौरी लेकमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेपछि सरोकारवाला खुसी बनेका छन् । समुद्री सतहदेखि करिब ४ हजार मिटरसम्मको उचाइमा अवस्थित यो लेकको मनोरम प्रकृति र सुन्दर बुकीफूलसँग रमाउन आन्तरिक पर्यटक यहाँसम्म पुग्ने गरेका हुन् ।
मध्यपहाडी लोकमार्गबाट उत्तरतर्फ रहेको यो लेकसम्म जाने गोरेटो बाटो पनि सहज भएपछि यस वर्ष घुम्नेहरू बढेको रुकुम पूर्वका फोटो पत्रकार तथा पर्यटनकर्मी दिलचन बुढाले बताए । ‘गत वर्ष पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोगमा यहाँ गोरेटो बाटो निर्माण भएपछि आवागमनमा सहज भयो । यसकारण पनि यस वर्ष धेरै जना घुम्न आएका छन्,’ उनले भने, ‘रुकुम पूर्वसँगै धेरै टाढा–टाढाबाट पनि पर्यटक यहाँसम्म आएको पाइयो । पहिला–पहिला गोठाला र घुम्न आएका २–४ जना देखिन्थे भने यस वर्ष बिदाको दिन त लर्को नै लाग्छ ।’
मध्यपहाडी लोकमार्गबाट करिब ३ घण्टा पैदल यात्रा गरेपछि चौरी लेकसम्म पुग्न सकिन्छ । यहाँ घुम्नका लागि जुनसुकै मौसममा पनि उपयुक्त हुने र मौसमअनुसारको सुन्दरता रहने गरेको छ । तर बर्खायाममा गोठालाको चहलपहलसँगै भेडाबाख्राको चरिचरनले यहाँको सुन्दरतालाई जीवन्त बनाउने स्थानीय भेडी गोठाला हरि सुनारले सुनाए । साथै यो मौसममा खासगरी असार मध्यदेखि साउन पहिलो सातासम्म अनेकानेक बुकीफूल फुल्ने हुँदा अरू बेलाभन्दा यो याममा धेरै मान्छे आउने गरेको सुनारको भनाइ छ ।
मध्यपहाडी लोकमार्गमा सवारी छोडेर छोटो–मिठो ट्रेकिङमा रमाउँदै प्राकृतिक सुन्दरतामा झुम्न चौरी लेक सबैभन्दा उपयुक्त गन्तव्य भएको यहाँ घुम्न पुगेका जाजरकोटका सरोज ओलीले बताए । ‘म यहाँ हिउँ पर्ने बेला पनि आएको थिएँ अनि यो याम (बर्खा)मा पनि आएँ । गज्जब लाग्यो । फूलको सुन्दरता र सुगन्धमा झुमेर प्रकृतिमा रम्न पाउने स्वर्गको एक टुक्राझैं लाग्यो चौरी लेक,’ उनले भने । रुकुम पूर्व र बागलुङको सिमानामा अवस्थित चौरी लेक पुगेर हिमालसँगै अग्ला पहाड र सुन्दर लेकाली पाटन एवं ढोरपाटन सिकार आरक्षको दृश्यावलोकन गर्न पनि सकिन्छ ।








प्रतिकृया दिनुहोस्