June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

एसपी क्षेत्रीको ‘मुखै बैरी’

Advertisement

भैरहवा– ‘छट्टु सिकारीले तित्राको स्वरको दुरुस्तै नक्कल गर्छ । सजातीय पन्छीको स्वर सुनेको ठानेर हुस्सु तित्रो भ्रममा पर्छ । अनि जोडतोेडले कराउँदै सिकारीछेउ आएर आफैं जालमा पर्छ र मारिन्छ ।’ त्यसैले भन्ने गरिन्छ ‘तित्राको मुख उसैको काल लुकी बस्ने दूलो हो ।’ तित्रासँगको यस्तो कहानी सबैको जीवनमा मेल नखान पनि सक्छ । तर, रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीको ‘बोली’ भने तित्रासित मेल खाने गरेको प्रहरी संगठनमा चर्चा छ ।

Advertisement

एसपी क्षेत्रीले रुपन्देही प्रहरीको नेतृत्व गरेको साढे दुई महिना पुग्न थाल्यो । जिल्ला आउनासाथ आफू ‘पहिलेका हाकिम जस्तो नभएको’, ‘कडा स्वभाव’, ‘घूस नखाने’ र ‘एक्सन’ शैलीमा काम गर्ने ‘कमाण्डर’ भएको बताएका थिए । रुपन्देहीका बासिन्दा पनि एसपीको बोली र व्यवहारले मेल खान्छ–खाँदैन प्रतीक्षामा थिए । तर, उनको शैली प्रहरी कमाण्डरको जस्तो नलाग्ने मातहतकै कर्मचारीले बताइरहेका छन् । बरु, तित्राकै जस्तो ‘तिखो’ छ, ‘रुखो’ छ । अहिले त प्रहरी कर्मचारीलाई क्षेत्रीको ‘मुखै बैरी’ लाग्न थालेको छ ।

मातहत कर्मचारीलाई ‘हायलकायल’ तुल्याइरहेका क्षेत्रीले ‘मुखै छाडेर’ ‘रफ’ र ‘अपशब्द’ बोलेर हर्कार्ने गरेको गुनासो छ । केहीसँग ‘लरक्क’, कोहीसँग ‘झरक्क’ हुने उनको शैलीप्रति मातहतका प्रहरी अधिकृत पनि दिक्क छन । आफ्नै संगठनका सहयात्रीसँग ‘रफ’ शब्द बोल्ने गरेको गुनासो छ । ‘एसपीसाबको अपशब्द बोल्ने बानी सुरुमा सिपाही, हवल्दार लगायत तल्लो दर्जालाई मात्र हो की भन्ने लागेको थियो’, एक प्रहरी सहायक निरीक्षक भन्छन्, ‘आएको चारपाँच दिनबाटै माथिल्लो दर्जाका प्रहरीसँग पनि उसैगरी ‘रफ’ बोलेर ‘गाली’ गर्न थाल्नुभयो ।’

रुपन्देहीजस्तो संवेदनशील जिल्लामा आइसकेपछि सबैभन्दा तल्लो र माथिल्लो दर्जा मात्रै होइन्, समाज, पालिका, राजनीतिक दल र सुरक्षा अंगसँग सहकार्य जरुरी हुने ती प्रहरीले बताए । ‘तर, हाम्रो एसपीसाबले कसैको विश्वास गर्नुहुन्न, आफै ‘सबै जान्ने’, ‘सबै छान्ने’ र ‘सबै मान्ने’ हुँ व्यवहार गर्दै आउनुभएको छ’, ती प्रहरीले भने, ‘सरको बानी देखेर, भोगेर सिपाही, हवल्दार मात्रै होइन्, दुबैजना डीएसपी साबहरु पनि हैरान भइसक्नु भएको छ ।’

प्रहरी कर्मचारीका अनुसार ‘हाकिम’ले मातहतलाई मिठो बोली, नम्र व्यवहार र जिम्मेवारीप्रति कर्तव्यनिष्ठ बनाउनु जरुरी हुन्छ । तर, ‘हप्काईदप्काई’ले जिल्लाभरका प्रहरी ‘तनाव’मा छन् । सामान्यतः माथिल्लो दर्जाले तल्लो दर्जाका प्रहरीलाई ‘तँ’ भन्ने गरे पनि एसपी क्षेत्रीले मुखै छाडेर ‘अपशब्द’ बोल्ने गरेका छन् । ‘म यहीँ रुपन्देही जिल्ला प्रहरी कार्यालय, मातहत चौकी, इप्रकाहरुमा बसेको धेरै भयो’, एकजना प्रहरी जवान भन्छन्, ‘यस्तो अप्ठ्यारो प्रहरी प्रमुख देखेको थिएन, चाहिने कुरामा अप्ठ्याराई गरेको भए ठीकै हो, खाली नचाहिँदो कुरामा, कुरा नबुझेर र बुझपचाएर कर्मचारीलाई अनावश्यक गाली गर्ने, तनाव दिने मनसाय एसपीसावमा बढी देखियो ।’

क्षेत्री रुपन्देही आएपछि दर्जनौं प्रहरीलाई स्पष्टिकरण सोधिसकेका छन् । सेटमै नमिठो बोल्ने गरेको अधिकृतहरुको गुनासो छ । भेटमा पनि उनले राम्रो व्यवहार देखाउँदैनन् । फोनमा पनि उस्तै बोली ‘ओकल्ने’ गरेको गुनासो प्रहरी कर्मचारीहरुको छ । यतिसम्मकी एकजना सिपाहीलाई आफैले राखेको घुमुवामार्फत् पैसा दिएर निलम्बन समेत गरेका छन् । रुपन्देहीमा जिरो ‘टोलोरेन्स’ अभियान थाल्छु भनेका एसपीले गएको जेठ महिनाभर नदीनाला दोहन हुँदा रमिते बने । नदी दोहनकै बेला बुटवलका एकजना काँग्रेस कार्यकर्ता मार्फत् खोलाबाट पैसा बुझेर काठमाडौं पठाएको भन्दै एसपी क्षेत्रीकाबारे समाचार सार्वजनिक भएका थिए । यसको वास्तविकताबारे अहिलेसम्म न प्रहरी संगठनले अनुसन्धान गरेको छ, न त एसपी क्षेत्रीले आफ्नो कुनै राय सार्वजनिक गरेका छन् ।

‘घूस’ नखाने बताउँदै आएका एसपी क्षेत्रीले भैरहवा क्षेत्रमा अवैधरुपमा चलिरहेका केही ठूलासाना प्रतिष्ठानको अवैध कारोबार नियन्त्रण लिन नसकेको आरोप छ । ‘आफूले जे पनि गर्न हुने, जस्तो बोले पनि हुने तर मातहतलाई गालीगलौज गर्ने तरिका ठीक भएन’, एकजना प्रहरी हवल्दारले भने, ‘काम भनेको टिमवर्कले गर्ने हो । गल्ती भए सच्याउने हो, तर गालीगलौज गरेर मात्रै हुँदैन ।’

एसपी क्षेत्रीले केही प्रहरी अधिकृतहरुलाई टार्गेट नै गरेर गाली गर्ने, सताउने र स्पष्टिकरण सोध्ने गरेको अधिकृतहरुको गुनासो छ । एसपी क्षेत्रीकै शैलीका कारण अहिले जिल्ला प्रहरी कार्यालयमा दुईजना डीएसपी सुरज कार्की र गणेश सापकोटाको एउटा टीम बनेको बताइन्छ । अर्को टिम एसपी क्षेत्री नेतृत्वको छ । डीएसपीद्वयसँग भान्छे, सिपाहीदेखि अधिकृतसम्म मिल्छन्, काममा प्लानिङ गर्छन्, दुःखसुख र अप्ठ्याराहरु शेयर गर्छन् । तर, एसपीको शैलीकै कारण उनीसँग विश्वासपात्र भनेकै एकजना घुमुवा प्रहरी छन् । उनले कयौंपटक आफ्नै अंगरक्षकलाई समेत अविश्वास गर्ने गरेको प्रहरी वृत्तमा चर्चामा छ ।

केही समय अघि क्षेत्रीले डीएसपीहरुलाई नै ‘रफ’ शब्द प्रयोग गरेको दावी प्रत्यक्षदर्शीहरुको छ । उनको ‘कमाण्डबिहीन’ शैलीका कारण जिल्लाभरका इन्चार्ज (इन्स्पेक्टर, बरिष्ठ सई, सई, असई) असन्तुष्ट बन्दै गएका छन् । यतिसम्मकी एसपी क्षेत्रीकै कारण केही समयअघि प्रहरी चौकी गल्लामण्डी पिपरहियाका असई रमाना बुझेर काठमाडौंतिर लागेका थिए । दिनदिनै मुख छाडेर ‘तथानाम गाली’ गर्न थालेपछि ती असई सहनै नसकेर काठमाडौं एक एआईजीको सचिवालयमा गएको बताइन्छ ।

एसपी क्षेत्रीलाई कुनै प्रतिक्रिया लिन खोज्दा सूचना अधिकृतलाई सोध्नुस् भनेर जवाफ दिन्छन् । कतिपयलाई उनले ‘मैले जवाफ दिन जरुरी छैन’ भनेर गैरजिम्मेवार प्रतिक्रिया दिने गरेका छन् । एसपीको शैलीबारे पब्लिक कुराले जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डीएसपी सुरज कार्कीसँग बुझेको छ । यसबारे कार्की भन्छन्, ‘एसपीसाबले अहिलेसम्म त्यस्तो ‘रफ’ र ‘अपशब्द’ बोलेको मैले सुनेको छैन । बाहिर कहीकतै त्यस्ता कुरा आएका छन् भने ती सबै गलत हुन्, हामी टिमवर्कमै काम गरिरहेका छौं ।’