६ वर्षदेखि अलपत्र हुलाकी सडक सांसद चौधरीको पहलमा पुनः निर्माण सुरु


परासी– पश्चिम नवलपरासीको हुलाकी सडकखण्ड अन्तर्गत बर्दघाट नगरपालिकाको नारायणचोकदेखि पर्यटकीय तथा धार्मिक स्थल त्रिवेणीसम्म जोड्ने अलपत्र १६ किलोमिटर सडक लामो समय पछि पुनः निर्माण सुरु भएको छ । २०७९ मंसिरमा सकिनुपर्ने हुलाकी सडकअन्तर्गतको यो खण्ड ठेकेदारको ढिलासुस्तीले अलपत्र परेको थियो । पटक–पटक म्याद थप गर्दा समेत काम नभएपछि संघीय सांसद विनोद चौधरी, प्रदेशसभा सदस्य देवकरणप्रसाद कलवार र स्थानीय पालिकाका जनप्रतिनिधिले दवाव दिँदै आएका थिए ।
ब्रजगुरु महालक्ष्मी जेभीले २०७६ मंसिरमा ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । तर, उक्त कम्पनीले समयमै निर्माण गरेन नै सडक भत्काएर असरल्ल सामान छाड्दा हिउँदमा धुँलो र वर्खामा हिलोले स्थानीय हैरानीमा परेका थिए । स्थानीयका अनुसार यो खण्डमा कयौं सवारी दुर्घटना समेत भएका छन् । पछिल्लो पटक निर्माण कम्पनीसँगको सहमती अनुसार भैरहवाका ठेकेदार चन्द्रमणि अधिकारीले बज्रगुरुकै कम्पनीबाट आन्तरिक सहमती गरी निर्माणको काम सुरु गरेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी इन्जिनियर पबित्रमणि आचार्यले जानकारी दिए ।
‘हामीले बीचमा ठेक्का तोड्ने भनेका थियौं, तर ठेक्का तोडेर अर्कै प्रक्रियाबाट काम गर्दा झन ढिला हुने भएकाले ठेकेदा–ठेकेदारबीचको आन्तरिक सहमतीले चन्द्रमणिजीले पूरानै निर्माण कम्पनीको फर्मबाट भुक्तानी पाउने गरी काम सुरु गर्नुभएको छ’, उनले भने, ‘पहिलो चरणमा डेढ किमी सडक कालोपत्रे पनि भइसकेको छ ।’ आयोजनाका अनुसार गोपीगंज बजार क्षेत्रको १५ सय मिटर सडक अधिकारीले कालोपत्रे गरिसकेका छन् ।
आयोजनाका अनुसार सुरुमा कोरोना महामारी, त्यसपछि आर्थिक मन्दी लगायतका कारण देखाउँदै ठेकेदारले काममा विलम्ब गरेका थिए । त्यसमा पनि ठेकेदार कम्पनी बैंकको कालोसूचिमा परेपछि निर्माणको काम ठप्प थियो । २०७९ मा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन भयो । त्यसपछि प्रतिनिधिसभा सदस्य चौधरी, प्रदेशसभा सदस्य कलवार र प्रतापुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले हुलाकी सडक निर्माण सक्न दवाव दिएका थिए । पालिका अध्यक्ष यादव आमरण अनसन समेत बसेका थिए ।
हाल सडक निर्माण गरिरहेका ठेकेदार अधिकारीले प्रतिनिधिसभा सदस्य चौधरीले बैंकिङ समस्या समाधानमा सहजीकरण गरेपछि आफूले ठेकेदार कम्पनीसँग आन्तरिक सहमतीमा उही कम्पनीबाट भुक्तानी लिने गरी सडक निर्माण थालेको बताए । ‘सबैभन्दा समस्या बैंकको थियो, मैले काम गर्ने भुक्तानी बज्रगुरुको खातामा जाने तर बैंकले सबै रकम काटीदिने थियो’, उनले भने, ‘हामीलाई आन्तरिक सहमती गराउन र बैंकको समस्या समाधानमा सांसद चौधरीले ठूलो सहयोग गर्नुभयो । यसपछि अहिले काम भइरहेको छ ।’ उनले स्थानीय पालिका र प्रदेश सांसदहरुबाट पनि सहयोग प्राप्त भइरहेको सुनाए । चौधरी सोही क्षेत्र (पश्चिम नवलपरासी क्षेत्र नम्बर १) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि हुलाकी सडकको अपूरो काम सम्पन्न गर्न पहल थालेको स्थानीय बताउँछन् । दूध डेरी संचालक स्थानीय गीता पाठकले सांसद चौधरी र अहिलेका ठेकेदार धन्यवादका पात्र भएको बताइन् । ‘धुलो र हिलो कति खाइयो भनिसाध्य छैन’, उनले भनिन्, ‘जेजस्तो भए पनि अहिले निर्माणको काम सुरु भएको छ, अब रोकिनुहुन्न भन्ने हाम्रो माग हो ।’ उनले वर्षौंसम्म सडक अलपत्र हुँदा दुर्घटना बढेको, व्यापार चौपट भएको र धुलोले स्थानीयको स्वास्थ्य समस्या आउने गरेको सुनाइन् ।
स्थानीय गोपिगंजका नन्दलाल चापागाईंले तीन वर्षमा सक्ने भनिएको सडक ६ वर्षसम्म नसकिनु लज्जाको विषय भएको सुनाए । ‘हाम्रा जनप्रतिनिधिले यतिधेरै पहल गर्दा पनि लामो समय काम अघि बढेन’, उनले भने, ‘कता सुन्दै छु ठेकेदार कालोसूचिमा परेका रहेछन् । सांसदहरुको पहलमा काम सुरु भएको छ । अब, निरन्तर काम गरि एक वर्षभित्र सक्नुपर्छ भन्ने हाम्रो माग छ ।’

यो खण्डमा लामो समयदेखि ईरिक्सा चलाउँदै आएका स्थानीय लक्ष्मण पंगेनीले सधैं जोखिमपूर्ण यात्रा गर्दा आफूजस्ता चालक, यात्रु र स्थानीय बासिन्दाले दुःख पाएको जनाए । ‘पुनः निर्माणको काम सुरु हुँदा हामी निकै खुशी छौं, चाँडै सडक निर्माणको काम सकिएर हाम्रो सुःखका दिन आउन भन्ने नै हो ।’ उनले अहिले काम गरिरहेका ठेकेदारलाई सबैले सहयोग गरेर भए पनि काममा अब ढिलाइ हुन नदिने बताए । ‘अब कामले निरन्तरता पाउँछ भन्ने आशा पलाएको छ’, उनले भने ।
५८ करोड लागतमा निर्माण भइरहेको उक्त हुलाकी खण्डको चौथोपटक म्याद थप गरी २०८२ चैत्र मसान्तसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ । आयोजनाका सूचना अधिकारी आचार्यका अनुसार मुख्य ठेकेदार बज्रगुरुको बैंकिङ लगायतका समस्या समाधान भए आन्तरिक सहमती अनुसार काम गरिरहेका ठेकेदार अधिकारीले समयमै निर्माण सक्ने बताएका छन् । सडकखण्डको हालसम्म भौतिक प्रगती ४० प्रतिशत छ भने वित्तीय प्रगती ३८ प्रतिशत छ । बजार क्षेत्रमा नालीसहित ११ मिटर र अन्य ठाउँमा नालीविनै ८ मिटर फराकिलो गरी यो सडकखण्ड निर्माण भइरहेको छ ।
यो सडक खण्ड अन्तर्गत पर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले समयमै निर्माण सक्न आफूले पटक–पटक पहल गरेको जनाए । ‘म अनसन बसेँ, प्रदेश र संघ सरकारलाई अन्य माध्यमबाट दवाव दियौं’, उनले भने, ‘अहिले निर्माणको काम सुरु भएको छ । यसलाई निरन्तरता दिन सकियो भने एक वर्षभित्र सकिन्छ की भन्ने आशा छ ।’ उनले विगतमा काममा विलम्ब हुँदा प्रतपुर क्षेत्रमा पर्ने ६ किमी सडक पालिकालाई बनाउन देउ भन्दै माग समेत गरेको सुनाए । यो सडकखण्ड बर्दघाट नगरपालिका, प्रतापुर र सुस्ता गाउँपालिका गरी तीनवटा पालिकामा पर्छ । सडक बन्दा यस क्षेत्रका एक लाख बढी स्थानीय लाभान्वित हुन्छन् भने धार्मिक पर्यटकीयस्थल त्रिवेणी पुग्ने लखौं पर्यटकलाई सहजता हुन्छ ।









लेखकको सम्वन्धमा