June 8, 2026, Monday
२०८३ जेष्ठ २५ सोमबार

माइती नेपालले रोक्ने, प्रहरीले छाड्ने

Advertisement

भैरहवा– बैदेशिक रोजगारमा जाने भन्दै रुपन्देहीको बेलहिया नाकाबाट मंगलवार एक हुल नेपाली युवायुवती भारतको सुनौलीतर्फ अघि बढ्दै थिए । बैदेशिक रोजगारीको नामबाट मानव बेचबिखनको जोखिममा पर्न सक्ने आंशकाले बेलहियास्थित माइती नेपालको चेकपोष्टमा कार्यरत कर्मचारीले रोकेर सोधखोज गर्न गरे ।

Advertisement

‘एकै लटमा यति धेरैजनाको हुल र म्यानपावर कम्पनीको कर्मचारी समेत साथमा लागेर नेपाली युवायुवतीलाई भारततर्फ लैजाँदै गर्नुले हामीलाई शंका लाग्यो’, माइती नेपाल भैरहवा आवधिक गृहकी प्रमुख माया क्षेत्रीले भनिन्, ‘यदि बैदेशिक रोजगारीमा जाने सवैको कागजात सही भएको भए काठमाडौंबाटै उडेर जाने सक्थे, किन भैरहवा नाकाबाट भारत हुँदै जान थाले ? भन्ने लाग्यो ।’

उनका अनुसार, भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई) रोजगारीमा जाने भनेर हिंडेको उक्त समूहमा १९ देखि ३० वर्ष उमेर सुमूहका २२ जना नेपाली युवती र त्यही उमेर समूहका ८ जना युवक थिए । उनीहरुको कागजात चेकजाँच गर्दा श्रम स्विकृति भनिएको कागजमा सरकारी छाप थिएन । यसले अझ शंका बढाएको थियो ।

समूहमा रहेका इलाम, झापा, मोरङ, सुनसरी, गोरखा, लमजुङ, स्याङ्जा, पाल्पा, , नवलपरासी, काठमाडौं, ललितपुर, दोलखा, सर्लाही, दाङ, कञ्चनपुर, म्याग्दी, भक्तपुर जिल्लाका थिए । उनीहरुको साथमा म्यानपावर कम्पनीका २ जना कर्मचारी पनि साथमा थिए । प्रहरी स्रोतका अनुसार उनीहरुलाई म्यानपावर कम्पनीले १० हजार रुपैयाँ दिएपछि फ्रि भिसामा युएई पठाउने भनेर ल्याएको थियो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय, बेलहियाका प्रहरीसँगको समन्वयमा सोधखोज गर्न थालियो । सबै बिबरण जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा जानकारी दिइयो । र, प्रमुख जिल्ला अधिकारीले तत्काल छाड्न नमिल्ने राय दिएपछि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा पठाइयो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले भने करिब ४ घण्टाको सोधखोजपछि सवै प्रक्रिया पुगेको भनेर सबैलाई छाडिदियो । सवै प्रक्रिया कानुनसम्मत रहेकाले छाडिदिएको भनाइ प्रहरीको भनाई छ ।

‘हामीले श्रम बिभागमा यस वारेमा सोधखोज गर्यौं, सबै प्रक्रिया कानुन सम्मत रहेको र सवैको उमेर पुगेको पाएपछि छाडिदियौं’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले भने, ‘काठमाडौंबाट भन्दा भारत हुँदै युएई जाँदा भाडा सस्तो पर्ने भएकाले यो नाका हुँदै जान आएका रहेछन् ।’

विभिन्न जिल्लाका र हुलमा भएकाले तत्काल उनीहरु अनुशन्धानको घेरामा परेको र पछि छाड्दा उनीहरुलाई स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा छाडिएको उनले बताए । अव यहाँनिर अहम् प्रश्न के आउँछ भने, कि भारत हुँदै बैदेशिक रोजगारीमा जानका लागि सवै प्रक्रिया पुरा भएको थियो भने किन सिमा नाकामा उनीहरुलाई रोकेर अनाबश्यक हैरानी दिइयो ? । कि प्रहरीले राम्ररी अनुशन्धान तथा छानबिन नै नगरिकन सबैलाई छाडिदियो ।

यस्ता घटना बिगतमा धेरै पटक भएका छन् । एउटा निकायले सिमा नाकामा रोकेर फिर्ता पठाउँछ । अर्को निकायले जाने अनुमती दिन्छ । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायबीच आपसमा समन्वय नहुँदा एकातिर सेवाग्राहीले अनाबश्यक सास्ती र हैरानी बेहोर्नु परेको छ भने अर्कोतर्फ, मानव बेचबिखनको समस्या दिनप्रतिदिन बढ्दै झन् चुनौती थपिँदै गएको छ ।

बैदेशिक रोजगारीको नाममा बेचबिखन र अन्य विभिन्न उत्पिडनमा परेको घटना धेरै छन् । बैदेशिक रोजगारीमा जानेको साथमा के–कस्ता कागजात आवश्यक पर्छ, ति कागजात आधिकारिक भएको प्रमाण के हुन्छ ? अनुशन्धान कसरी गर्ने ? लगायतका बिषयमा सिमानाकामा खट्नेलाई राम्ररी तालिम प्रदान गर्ने तर्फ सरकारले ध्यान पुर्याएमा हैरानी पनि खेप्नु पर्दैनथ्यो । बेचबिखनको जोखिममा परेकाको पनि उद्धार हुनेथियो ।