July 26, 2026, Sunday
२०८३ श्रावण १० आईतवार

लुम्बिनीमा संघीय बजेटः सिद्धार्थ रंगशालादेखि सेमलारमा कृषि थोक बजारसम्म

Advertisement

भैरहवा– रुपन्देहीको सेमलारमा आधुनिक कृषि थोक बजारका लागि पूर्वाधार निर्माणदेखि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानको स्तरोन्नतीसम्म योजना संघीय सरकारको बजेटमा समावेस भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को लागि जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट पेस गरेका थिए । उक्त बजेटमा रुपन्देहीका योजनालाई प्राथमिकतामा राखिएको । समग्रमा लुम्बिनी प्रदेशका धेरै योजना समावेस भएका छन् ।

Advertisement

रुपन्देही अर्थमन्त्री पौडेलको गृहजिल्ला समेत भएकाले बजेटमा प्राथमिकतामा राखिएको छ । तर, नयाँ योजना भन्दा पूरानै योजनालाई मूर्तरुप दिने र बनेका योजना संचालनमा बजेटमा जोड दिइएको छ । बजेटमा सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति, रुपन्देहीको सेमलारमा आधुनिक कृषि थोक बजारका लागि पूर्वाधार निर्माण, मोतिपुर औद्योगिक क्षेत्र, तिलोत्तमामा मेडिकल कलेज, भैरहवाको एकीकृत जाँच चौकी (आईसीपी), वृहत्तर लुम्बिनी गुरुयोजना निर्माण, गौतमबुद्ध विमानस्थलमा कार्गो सुविधा, कालिगण्डकी तिनाउ डाइभर्सन, नौमुरे जलविद्युत आयोजना समावेस छन् । तर, यी योजना पुरानै हुन् । यी सबै योजनालाई बजेटले सम्बोधन गरेको छ ।

पबजेटमा पाल्पा र दाङमा पेट्रोलियम पदार्थ अन्वेषण, अर्घाखाँचीको पाणिनीमा ज्ञान उद्यान निर्माण, दुम्कीबास–बर्दघाट र शिवपुर–भालुवाङ सुरुङ मार्ग निर्माण लगायत नयाँ योजना बजेटमा समेटिका छन् । दुम्कीबास–बर्दघाट, शिवपुर–भालुबाङ, रानीघाट–भुरिगाउँ र हाक्तीसार–बबई सुरुङ, सिक्टा सिंचाइ र वृहत् दाङ सिंचाइ परियोजनाका लागि ८ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । भेरी–बबई डाइभर्सन आयोजनाको हेडवक्र्स र पावर हाउस निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गरिने भएको छ । यसका लागि २ अर्ब ७ करोड बजेट छुट्याइएको । सिँचाइ प्रणालीमा १ अर्ब ८२ करोड विनियोजन गरिएको छ ।

विगतका बजेटमा उल्लेख हुँदै आएको तिनाउ नदीमा सिग्नेचर पुल र तिनाउ नदी कटान नियन्त्रणका लागि अघि बढाइएको तिनाउ कोरिडोर भने बजेटमा समेटिएनन् । बजेट वत्तव्यमा अध्ययन सम्पन्न भएका दुम्कीबास–बर्दघाट सुरुङ मार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरिने तथा शिवपुर–भालुबाङ, रानीघाट–भुरिगाउँ र हात्तीसार–बबई सुरुङ मार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने उल्लेख छ ।

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि थप प्रोत्साहन र सहुलियत, टरिगाउँ विमानस्थलको क्षमता विस्तार, बुटवल मेडिकल कलेजलाई १४ करोड, रुपन्देहीको तिलोत्तमा सहित चार स्थानमा बन्ने सरकारी मेडिकल कलेजलाई ५६ करोड बजेट विनियोजन गरेका छन् । उच्च मूल्यका बालीवस्तुको खेती प्रवद्र्धनमा ८३ करोड, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीवस्तुको खेती प्रवद्र्धन गर्न ८३ करोड विनियोजन भएको छ । रुपन्देहीको मोतीपुर, बाँकेको नौ बस्ता र दाङको लक्ष्मीपुर औद्योगिक क्षेत्र निर्माणका लागि लगानी बोर्डमार्फत निजी क्षेत्रको सहभागितामा आधुनिक औद्योगिक क्षेक्रको निर्माण गरिने बजेट वत्तव्यमा उल्लेख छ । तर नौवस्ताको जग्गा वन क्षेत्रमा परेकाले औद्योगिक क्षेत्र बन्ने अनिश्चित छ ।

बजेट वक्तव्यमा भैरहवाको एकीकृत जाँच चौकी (आईसीपी) आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ । बजेट वक्तव्यमा आगामी आर्थिक वर्षमा सीमावर्ती दक्षिण नाकाका नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगन्ज जोड्ने रेलमार्ग निर्माण कार्यको तयारी सुरु गरिने उल्लेख छ । आगामी दुई वर्षभित्र पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ, बुटवल–गोरुसिङ्गे सडकखण्डलाई चार लेनमा स्तरोन्नति गरिने बजेट वक्तव्यमा उल्लेख छ । यी दुई सहित अन्य सडक आयोजनाका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन भएको छ । लुम्बिनीको माडी–दाङ सहित ग्वारखोला, तमोर–चिस्याङ्ग, सुनकोसी–तावा, त्रिशूली–लोथर बहुउद्देश्यीय आयोजनाका लागि ३७ करोड विनियोजन भएको छ ।

बुटवल धागो कारखाना लगायतका सार्वजनिक प्रतिष्ठानको विद्यमान अवस्था र व्यावसायिक सम्भाव्यताको अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गरिने बजेटमा उल्लेख छ । यसैगरी रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम सहित काठमाडौंको मूलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि ४२ करोड विनियोजन भएको छ । रणनीतिक तथा व्यापारिक महत्वको कक्रहवा (रुपन्देही)–सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, राप्ती राजमार्ग लगायतका अन्य प्रदेशका विभिन्न सडकको स्तरोन्नति गर्न १ अर्ब २४ करोड विनियोजन भएको छ ।

भैरहवाको रणअम्बिका आँखा अस्पतालको सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ । यस्तै न्यु बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको निर्माण कार्य अघि बढाइने बजेटमा उल्लेख छ । गण्डक, राजापुर लगायतका सिंचाइ प्रणालीहरूको मर्मत–सम्भार, पुनस्र्थापना तथा व्यवस्थापन सुधारका लागि १ अर्ब ८२ करोड विनियोजन भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बजेटले खेलदेखि कृषि, पर्यटन र भौतिक पूर्वाधार सबैक्षेत्रलाई समेटेको जनाए ।