तालाबन्दी र विवादले रूपन्देहीका आठ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

भैरहवा– आज मुलुकभरका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । बिहानैदेखि विद्यार्थीहरु मतदानका लागि लाइनमा बसेका छन् । तर, रुपन्देहीका दुई तिहाई बढी क्याम्पसहरुमा भने विवादका कारण स्ववियु निर्वाचन नै रोकिएको छ ।
प्रशासनका अनुसार जिल्लाका ८ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो । रुपन्देहीमा कुल १२ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने जनाइएको थियो । तर, विद्यार्थी संगठनहरुबीच विवाद र तालाबन्दीले आठ वटामा क्याम्पसमा निर्वाचन नै रोकिएको छ ।
जिल्लाको देवदह आदर्श बहुमुखी क्याम्पस, देवदहमा भने स्ववियुको सिंगो कमिटी नै निर्बिरोध निर्वाचित भइसकेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रबक्ता डीएसपी सुरज कार्कीका अनुसार आठ वटा क्याम्पसमा तालाबन्दीका कारणले गर्दा चुनाब रोकिएको हो ।
निर्वाचन रोकिनेमा भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, बुटबल बहुमुखी क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, राममणि बहुमुखी क्याम्पस, लीलाराम बहुमुखी क्याम्पस, श्री सरस्वती संस्कृत विधापिठ क्याम्पस छन् ।
हरैया बहुमुखी क्याम्पस, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र शहिद नारायण पोख्रेल बहुमुखी क्याम्पसमा भने आज बिहानबाट मतदान भइरहेको छ । पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचन प्रक्रिया अपारदर्शी भएको उनीहरूको आरोप छ । उनीहरूको तालाबन्दीपछि निर्वाचन प्रक्रिया नै स्थगित भएको छ ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले निर्वाचन अधिकृतले पूर्वाग्रही व्यवहार गर्दै षड्यन्त्रपूर्वक हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन् । मनोनयन प्रक्रियामा तोकिएको समयभन्दा ढिलो गरेको, चुनावी मर्यादा उल्लघंन भएकोजस्ता कारण लगाउँदै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा गमा गरेका हुन् । नयाँ निर्वाचन समिति गठन गर्नसमेत माग गरेका छन् ।
तालाबन्दीपछि दुवै संगठनको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतले राजीनामा दिएर नयाँ निर्वाचन समिति गठन नहुँदासम्म तालाबन्दी नखुल्ने प्रस्ट पारेका छन् । त्यस्तै रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा समेत निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्यार्थीहरूले तोडफोड गरेपछि निर्वाचन समितिले चुनाव प्रक्रिया स्थगित गरेको छ ।
स्ववियु निर्वाचनका लागि संठन दर्ताका लागि एमालेनिकट अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरू क्याम्पस प्रवेश गरेपछि फागुन १९ गते समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनले कुर्सी तोडफोड गरेका थिए ।
विभिन्न माग राखेर ती विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यकक्षमा गत आइतबार तालाबन्दी गरेका थिए । उनीहरूले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्न माग गरे पनि त्यसलाई बेवास्ता गर्दै निर्वाचनको प्रक्रियामा गएपछि असन्तुष्टि जनाउँदै आएका थिए । जसले गर्दा त्यहाँ अहिलेसम्म निर्वाचनको प्रक्रिया अगाडि बढ्न नसकेको हो । निर्वाचन समितिका संयोजक गणेशप्रसाद पाण्डेले राजिनामा दिएका छन् जसले गर्दा निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
लेखकको सम्वन्धमा