रूपन्देहीमा होलीपर्व सुरक्षाः ८८० प्रहरी परिचालन

भैरहवा– रुपन्देही प्रहरीले होली पर्र्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको छ । बिहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्ला होली पर्व मनाइन्छ । पर्वमा कुनै पनि अवाञ्छनीय गतिविधि हुन नदिन ब्यापक रुपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको रुपन्देही प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले ११ प्रकारका ड्युटीमा ८ सय ८० प्रहरी परिचालन गरिएको बताए । ‘आम नागरिकको सुरक्षा र गैरकानूनी गतिविधि रोक्न सादा पोसाकमा समेत प्रहरी परिचालन भएको छ’, उनले भने ।
प्रहरीले रिजर्भ टोली, गाडी मोबाइल, पिकेट ड्युटी, ट्राफिक सहितको चेकिङ, पैदल गस्ती, चेकिङ टोली, आकस्मिक चेकिङ परिचालन गरिएको जनाएको छ । खासगरी तराईमा होली शुक्रबार भएकाले प्रहरीले सुरक्षा तयारीसाथ काम गरिरहेको छ । बिहीबार पनि केही मात्रामा होली खेलिए पनि रुपन्देही शुक्रबार मुख्य होली पर्व मनाइन्छ ।
प्रहरीले जबरजस्ती रंग दल्ने, लोला हान्ने, मापसे गरी होहल्ला गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने जनाएको छ । ‘शंकास्पद गतिविधि माथि सुरक्षा निगरानी राखिनेछ,’, उनले भने, ‘होलीपर्वलाई भयरहित वातावरणमा मनाउने र अवाञ्छित तथा अप्रिय घटना घट्न नदिई शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन प्रहरीले काम गरिरहेको छ ।’
प्रहरी घट्न सक्ने घटनाको नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको व्यवस्था मिलाइएको जनाएको छ । सर्वसाधारण, महिला, बालबालिका, अशक्तहरुलाई जवरजस्ती रंग छ्याप्ने र दुव्र्यवहार हुन सक्ने चुनौती समेत रहेको प्रहरीको आँकलन छ । यसमा विशेष निगरानी रहने डीएसपी कार्कीले बताए ।
‘होल्ला गर्ने, बिकृति मच्चाउने, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरि उच्छृङखल गतिविधि हुन सक्ने, चोरी हुनसक्ने चुनौतीहरु छन्’, उनले भने, ‘प्रहरी सबै चुनौती सामाना गर्ने गरी काम गर्ने छ ।’
लेखकको सम्वन्धमा