May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बालबालिकामा पिसाब संक्रमण हुन नदिन के गर्ने ?

Advertisement

बालबालिकालाई ज्वरो आउने बित्तिकै क्लिनिकमा गएर औषधि खुवाउनु हुँदैन। किनभने, ज्वरोको एउटा कारण पिसाब संक्रमण पनि हुन सक्छ भन्ने कुरामा अविभावकले हेक्का राख्नु जरुरी छ। चिकित्सकको सल्लाहअनुसार पिसाबको जाँच गराउनुपर्छ। जाँचमा संक्रमण देखिएको अवस्थामा रोगअनुसार औषधि र उपचार सुरु गर्न सकिन्छ।

Advertisement

एक पटक पिसाब संक्रमण भइसकेका बालबालिकालाई पुनः संक्रमण हुने जोखिम ३० प्रतिशतले बढेको हुन्छ। त्यसैले पुनः संक्रमण हुन नदिन प्रशस्त पानी पिउने, पिसाब नरोक्ने, कब्जियत हुन नदिने, सन्तुलित खाना दिने, पिसाब फेरिसकेपछि योनीलाई राम्रोसँग सफा गर्ने, दैनिक भित्री वस्त्र परिवर्तन गर्नुपर्छ। सकेसम्म भित्री वस्त्र प्रयोग गर्दा कटनको कपडा प्रयोग गर्नु उपयुक्त हुन्छ।

बालबालिकाको दिसा सफा गर्दा धेरै अविभावकले गल्ती गरिरहेका हुन्छन्। अधिकांश अविभावकले पछाडिबाट अगाडि दिसा सफा गर्छन्। यसो गर्दा दिसाहरू पिसाब फेर्ने भागमा जान्छ र संक्रमण हुने सम्भावना बढ्छ। त्यसैले अगाडिबाट पछाडितर्फ दिसा सफा गर्नु उपयुक्त हुन्छ। बालकहरूको पनि पिसाब फेरिसकेपछि लिंगको छाला माथि तानेर सफा गर्नु उत्तम विकल्प हो।

पिसाबको जाँच गर्ने क्रममा स्वास्थ्यकर्मी पनि उत्तिकै चनाखो हुनु जरुरी छ। पिसाबको जाँच गर्दा नमुना संकलनका लागि ध्यान पुर्‍याउनु आवश्यक छ। साबुन पानीले एक पटक पिसाब फेर्ने भाग सफा गर्नुपर्छ। ट्वाइलेट ट्रेन बच्चा भए एकपटक पिसाब फेरेपछि बीचको पिसाब संकलन गर्नु आवश्यक छ। संकलन गरिएको पिसाब एक घण्टाभित्र प्रयोगशालामा पुर्‍याउनुपर्छ। संकलन गरिएको पिसाब समयमै प्रयोगशालामा पुर्‍याउन सकिएन भने किटाणुको विकास हुन सक्छ।

बालबालिकामा लगातार पिसाबको संक्रमण भइरहे बाल मिर्गौला रोग सम्बन्धी विशेषज्ञलाई देखाउनु उपयुक्त हुन्छ। बिरामीको अवस्थाअनुसार विशेषज्ञले दिएको सुझावका आधारमा उपचार सुरु गरे पिसाब संक्रमण रोक्न सकिन्छ।