July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगाको अवस्था कस्तो छ ?

Advertisement

भैरहवा– शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको यो बैंक स्थापना भएको १७ वर्ष पुगेको छ । यो अवधिमा बैंकको अधिकृत पूँजी ८ अर्व रुपैयाँ, जारी पुँजी ४ अर्व ८७ करोड र चुक्ता पूंजी पनि ४ अर्व ८७ करोड छ । २०८१ पौष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार निक्षेप संकलन ६९ अर्ब ७२ करोड रुपैयाँ, वचत निक्षेप ३६.९३ प्रतिशत, मुद्दती निक्षेप ५६.७४ प्रतिशत, कल चल्ती तथा अन्य ६.३३ प्रतिशत छ ।

Advertisement

कर्जा लगानीतर्फ ५७ अर्ब ४९ करोड रुपैयाँ छ । जसमा ब्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

बैंकले आर्थिक बर्षमा २०८०–०८१ मा ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ ३७ करोड ०६ लाख ६६ हजार गरी कुल ७२ करोड ६४ लाख ४६ हजार सरकारी कोषमा जम्मा गरेको छ । चालु आ.व. २०८१–८२ को पौष मसान्त सम्म अग्रिम आयकर तर्फ १७ करोड ९८ लाख ७३ हजार र ब्याजकर, पारिश्रमिक कर, लाभांश कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ १६ करोड ९३ लाख ६४ हजार गरी कूल ३४ करोड ९२ लाख ३७ हजार जम्मा गरिएको छ ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा बृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामिण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी बिस्तार गर्ने, डिजिटल कारोवारलाई थप सुरक्षित र भरपर्दो बनाउँदै उत्कृष्ट विकास बैंक बन्ने लक्ष्य सहित अघि बढेको बताउँछन् । ‘नेपाल राष्ट्र बैंकको मार्गदर्शन अन्तर्गत रही लुम्बिनी प्रदेशलाई मुख्य आधार तथा केन्द्र बनाई शाखा विस्तार गर्दै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा रहेका छौं’, उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैंकिङ, संस्थागत सुशासन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र प्रुडेन्ट बैंकिङमा आफूहरु पूर्णरूपमा प्रतिबद्ध रहेको जनाए । उनले विकास बैंकहरुमा साइन रेसुंगा अब्बल बैंक रहेको र आमनागरिकको विश्वास जित्दै गएको बताए । बैंकले आइतबार तिलोत्तमा नगरपालिकाको मणिग्राममा विशेष समारोह आयोजना गरी वार्षिकोत्सव मनाएको छ । यो अवसरमा उत्कृष्ट कर्मचारी र पत्रकारलाई सम्मान गरियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेले राजधानी बाहिर मुख्य कार्यालय रहेको शाइन रेसुंगा बैंक यस क्षेत्रको गौरव रहेको बताए । उनले कुनै पनि बहानामा यो बैंकको प्रधान कार्यालय राजधानी वा अन्य ठाउंमा सार्न नहुनेमा जोड दिए । बैंकिङ क्षेत्रमा शाइन रेसुंगाले पुर्याएको योगदान महत्वपूर्ण रहेको महासंघ अध्यक्ष पाण्डेको भनाई छ ।

बैंकमा ९७० जना कर्मचारी छन् । बैंक आर्थिक बर्ष २०८०–०८१ मा इण्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, बेस्ट पर्फमेन्स अन ग्रोथ र बेस्ट बैंक शिर्षकमा रनर उपाधिबाट सम्मानित भएको थियो । यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा नेसनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यु बिजनेश एज प्रा.लि. वाट बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इअर २०२४ वाट सम्मानित भएको थियो ।

बैंकको वार्षिकोत्सवका अवसरमा यस वर्ष बुटवलका पत्रकार दामोदर खनाललाई आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो । ५० बढी हजार राशीको उक्त पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सहकार्यमा बैंकले स्थापना गरेको थियो ।