May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

घुम्न जाम बर्दिया कि हराउँदै बर्दिया ?

Advertisement

नेता होइन, स्थानीय गाइड
भाषण होइन, काम
फोटोसेसन होइन, परिणाम ।

Advertisement

बर्दिया, नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदा । यहाँको हरियाली, वन्यजन्तु, र अनौठो थारू संस्कृति संसारकै ध्यान खिच्न सक्ने खजाना हुन् । तर, अहिलेको यथार्थ के हो भने, बर्दियाको पर्यटन प्रवर्द्धन केवल देखावटी कार्यक्रममा सीमित छ। “घुम्न जाउँ बर्दिया” जस्ता नाराहरूमा हामी रमाइरहँदा, बर्दियाले भोग्नुपरेका वास्तविक समस्याहरू बिर्सिएका छौं।

नेताहरूको भाषण र रंगीन कार्यक्रममा पैसा र समयको दुरुपयोग भइरहेको छ। तर, हाम्रो वास्तविक आवश्यकता के हो? सफा सडक, व्यवस्थित फोहोर व्यवस्थापन, सस्तो यातायात, र स्थानीय संस्कृति संरक्षण। आज, यी सबै चुनौतीहरूको सामना गर्न हामी तयार छैनौं।

सडक पूर्वाधार: स्वागत होइन, निराशा
बर्दियाको प्रमुख समस्या भनेको खराब सडक व्यवस्था हो। यहाँ आउने पर्यटकहरूलाई यात्रा नै चुनौतीपूर्ण हुन्छ। खाल्डाखुल्डीले भरिएको सडक, धुलो, र हिलोले यात्रा सहज होइन, असहज बनाउँछ। के खराब सडकले पर्यटकलाई स्वागत गर्छ?
यदि हामीले बर्दियालाई साँचो अर्थमा पर्यटन गन्तव्य बनाउनु छ भने, पहिलो प्राथमिकता सडक मर्मत हुनुपर्छ।

फोहोरको थुप्रोले लज्जित बनाएको बर्दिया
जताततै प्लास्टिक र फोहोरको थुप्रो देखिन्छ। हामी “घुम्न जाउ बर्दिया” भनेर प्रचार गर्छौं, तर पर्यटकले प्लास्टिकका झोलाको पहाड र व्यवस्थापनको अभाव मात्र देख्छन्।

बर्दियाको प्राकृतिक सौन्दर्यलाई प्लास्टिकले ओझेलमा पारेको छ। यदि हामीले तुरुन्तै फोहोर व्यवस्थापनमा ध्यान दिएनौं भने, पर्यटकको मन जित्ने हाम्रो सपना केवल सपना नै रहनेछ।

स्थानीय खानाको खडेरी: संस्कृति हराउँदैछ
बर्दियाको परम्परागत खाना र संस्कृति पर्यटकको प्रमुख आकर्षण हुन्। तर, आजको बर्दियामा स्थानीय खाना पाउनै गाह्रो छ।

पर्यटकले थारू समुदायको विशेष खाना चाख्न चाहन्छन्, तर स्थानीय रेष्टुरेन्टहरूले बाहिरी खाना मात्र उपलब्ध गराउँछन्।
हाम्रो संस्कृति र पहिचान हाम्रो खाना र परम्परामा जिवित छ। यदि हामीले यो हराउन दियौं भने, बर्दिया पर्यटकका लागि विशेष गन्तव्य बन्न सक्दैन।

किन आउने पर्यटक बर्दिया?
अब प्रश्न उठ्छ, किन आउने पर्यटक बर्दिया ?
खराब सडकमा यात्रा गरेर थाक्न?
प्लास्टिक र फोहोरको थुप्रो हेर्न?
स्थानीय खानाको अभावले निराश हुन?
हराउँदै गएको संस्कृति देखेर दु:खी हुन?
यदि हामीले यी समस्याहरू समाधान गर्न सकेनौं भने, केवल प्रचारले बर्दियाको पर्यटन फस्टाउने छैन।
नेताहरूको भाषणले के दियो?

बर्दियाको पर्यटन प्रवर्द्धनका लागि ठूला नेताहरूलाई बोलाइन्छ। भाषण र देखावटी कार्यक्रममा पैसा खर्च गरिन्छ। तर, के तिनीहरूले बर्दियाका लागि कुनै ठोस कदम चालेका छन्?
के तिनीहरूले प्लेनको भाडा घटाउन सके? के तिनीहरूले बर्दियालाई ट्राभल एजेन्सीहरूसँग जोड्न सके?
के तिनीहरूले अन्तर्राष्ट्रिय मिडियामा बर्दियाको प्रचार गर्न सके?

उत्तर स्पष्ट छ। भाषणले न सडक मर्मत हुन्छ, न प्लास्टिकको समस्या समाधान हुन्छ, न स्थानीय खानाको अभाव पूरा हुन्छ।

के गर्नुपर्छ?
अब समय आएको छ, भाषण होइन, काम गर्ने।
१) सडक सुधार: बर्दियाको सडकलाई व्यवस्थित र सुरक्षित बनाउनु पर्यटकको लागि पहिलो आवश्यकता हो।
२) फोहोर व्यवस्थापन: प्लास्टिक र फोहोरको समस्या समाधान गर्न सफाई अभियान र नीतिगत योजना आवश्यक छ।
३) स्थानीय खानाको प्रवर्द्धन: थारू समुदायको परम्परागत खाना पुनर्जीवित गर्न स्थानीय व्यवसायलाई सहयोग गरौं।
४) प्लेन भाडा घटाउनु: महँगो प्लेन भाडा बर्दियालाई पर्यटकको पहुँचभन्दा टाढा बनाएको छ। यदि प्लेन भाडा घटाइयो भने, बर्दियामा पर्यटकका लागि ठाउँ नै नपुग्ने अवस्था हुनेछ।
५) अन्तर्राष्ट्रिय प्रचार: मिडिया, ब्लगर, र ट्राभल इन्फ्लुएन्सरहरूलाई बर्दियामा आमन्त्रण गरेर यसको सौन्दर्यलाई विश्वसामु चिनाऔं।
६) स्थानीय गाइडलाई समर्थन: बर्दियाका स्थानीय गाइडहरू हाम्रो मुख्य शक्ति हुन्। उनीहरूको ज्ञान र अनुभवले पर्यटकको अनुभवलाई विशेष बनाउँछ। उनीहरूको भूमिकालाई प्राथमिकता दिऔं।

निष्कर्ष: भाषण बन्द गरौं, काम गरौं
“घुम्न जाऊँ बर्दिया” नाराले मात्र बर्दियाको पर्यटन फस्टाउन सक्दैन। नेताहरूका खोक्रा भाषणले न त सडक मर्मत हुन्छ, न त फोहोर व्यवस्थापन।

यदि हामी साँचो अर्थमा बर्दियाको पर्यटनलाई विश्वस्तरिय बनाउन चाहन्छौं भने, ठोस योजना, सहकार्य, र मेहनत चाहिन्छ।

भाषण होइन, समाधान आवश्यक छ। अब बर्दियाको वास्तविक समस्या समाधान गर्दै भविष्यको योजना बनाऔं।
अब समय भाषणको होइन, कामको हो। बर्दियालाई बचाउन केवल कामले सम्भव छ।
ठाकुरद्वारा, बर्दिया