June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

घोराहीमा आजदेखि २९औं बाल सम्मेलन

Advertisement

भैरहवा– बाल साहित्यको संरक्षण र प्रबद्र्धन गर्नका लागि २९औं बाल सम्मेलन शुक्रवार (आज) देखि दाङको घोराहीमा हुँदैछ । आज दिउँसो साहित्यिक र्यालीसहित घोराही बजार परिक्रमा गरी सुरु गरिने उक्त सम्मेलन घोराहीस्थित गोर्खा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुलमा हुन थालेको जानकारी नेपाल बाल साहित्य समाजले दिएको छ ।

Advertisement

नेपालमा बालसाहित्यको प्रवर्धन गर्नका लागि २०४४ सालमा काठमाडौंमा सम्पन्न बाल साहित्य क्षेत्रका लेखक, प्रकाशक र चित्रकारहरुको पहिलो सम्मेलनले नेपाल बाल साहित्य समाजको स्थापना गरेको थियो । समाजले प्रत्येक वर्ष सम्मेलन गर्दै आएको छ । गतवर्ष प्युठानमा २८ औं सम्मेलन सम्पन्न भएको थियो ।

सम्मेलनमा सहभागी हुन राष्ट्रिय स्तरका ५० बढी साहित्यकार बिहीबार बेलुका नै घोराही आइसकेको सम्मेलनका स्थानीय संयोजक तथा राप्ती साहित्य परिषद्का अध्यक्ष टिकाराम उदासीले जनाएका छन् । सम्मेलनको उद्घाटन हुनु पूर्व निकालिने साहित्यिक र्यालीले घोराही बजार परिक्रमा गरी गोर्खा स्कुलमा पुग्ने छ ।

सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति, विचार विमर्श, पुस्तक प्रदर्शनी, पुरस्कार वितरण, सम्मान र कला प्रस्तुति गरिने बाल साहित्य समाजका महासचिव तथा सम्मेलनका केन्द्रीय संयोजक विजयराज आचार्यले बताए । बालबालिकालाई साहित्य लेखन, अभिनय, चित्रकला, नृत्यकला, कथावाचन लगाएतका विषयमा प्रशिक्षण दिइने छ ।

उनका अनुसार, ४ सय ५० बालबालिकालाई सहभागी गराई विभिन्न विधामा प्रशिक्षण दिएर कला र साहित्यको सीप विकास गराइने छ । बालप्रतिभाको प्रदर्शनका साथै कथा, कविता र हस्तलेखन प्रतियोगिता समेत सम्मेलनमा गरिने छ ।