लुम्बिनीखबरले दियो पत्रकारलाई पेन्सन सुविधा


भैरहवा– रुपन्देही सदरमुकाम भैरहवाबाट प्रकाशित हुने लुम्बिनीखबर पत्रिकाले आफ्ना संस्थामा कार्यरत सञ्चारकर्मीलाई पेन्सन दिने भएको छ । पत्रिकाका सम्पादक कमल रायमाmझीले आर्थिक वर्ष २०८१–०८२ बाट पत्रिकामा कार्यरत कर्मचारी तथा सञ्चारकर्मीलाई योगदानमा आधारित पेन्सन दिन लागेको जनाए ।
‘समिक्षात्मक तथा खोजमूलक समाचार मार्फत समाजको रुपान्तरणमा भूमिका खेल्दै आएका छौं’, उनले भने, ‘यो पत्रिकामा कार्यरत कर्मचारी तथा सञ्चारकर्मीहरुको योगदानलाई मूल्याङ्कन गर्दै सामाजिक सुरक्षाकोष मार्फत् विभिन्न सेवा सुविधा प्रदान गर्न शुरु गरेका छौं ।’
संस्थाका प्रवन्ध निर्देशक श्रीबहादुर रायमाझीले नेपाल सरकारको मापदण्ड अनुसार आफ्ना कर्मचारीलाई सेवासुविधा उपलब्ध गराउँदै आएको र पत्रिकाले स्थापनाकालदेखि सञ्चय कोषको व्यवस्था समेत गरेको जनाए । ‘चालु आर्थिक वर्षबाट भने सामाजिक सुरक्षाकोष मार्फत् पेन्सन तथा अन्य सुविधा प्रदान गर्न सुरु गरेका छौं’, रायमाझीले भने ।
लुम्बिनीखबरले कर्मचारीको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गर्ने र कर्मचारीले पाउने तलवमा २० प्रतिशत संस्थाले थप गरि कुल ३१ प्रतिशत रकम सामाजिक सुरक्षाकोषमा जम्मा गर्न शुरु गरेको हो । यो सुविधामा जानका लागि संस्थाले नेपाल सरकारले तोकेको तलव तथा सेवासुविधा उपलव्ध गराउनु पर्ने नियम छ ।
संस्थाका अध्यक्ष गोकुल पोखरेलले सामाजिक सुरक्षाकोषमा जोडिएसँगै अब लुम्बिनीखबर पत्रिकामा कार्यरत कर्मचारीहरुले पेन्सन लगायत, दुर्घटनाको उपचार, व्यवसायीजन्य रोगको उपचार कोषको तर्फबाट निःशुल्क प्राप्त गर्ने बताए । ‘यी सुविधाका साथसाथै कार्यक्षेत्रमा काम गर्दागर्दै दुर्घटना तथा कुनै दिर्घ रोगबाट काम गर्न असक्षम भए आफ्नो तलबको ६० प्रतिशत रकम पाउने व्यवस्था छ’, उनले भने, ‘साथै वार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा र दिर्घ रोग लागे १० लाखसम्मको उपचार खर्च समेत कोषमा आवद्ध कर्मचारीले प्राप्त गर्ने छन् ।’
१५ वर्ष सामाजिक सुरक्षाकोषमा रकम जम्मा गर्ने कर्मचारीले ५८ वर्ष पछि पेन्सन सुविधा प्राप्त गर्ने सामाजिक सुरक्षाकोषको योजना संचालन कार्यविधिमा व्याख्या गरिएको छ । यसबाहेक कर्मचारीको मृत्यु भएमा (पति भए पत्नी र पत्नी भए पति वा बुवाआमा) ले जीवनकालसम्म पेन्सन पाउने छन् । आश्रित परिवारमा रहेका दुई जना छोराछोरीलाई पढाई खर्च समेत सामाजिक सुरक्षाकोषले प्रदान गर्ने व्यवस्था रहेको सामाजिक सुरक्षाकोष बुटवलका प्रमुख खिम कार्कीले जानाकारी दिए ।
कर्मचारी तथा कार्यक्षेत्रमा जोखिमयुक्त काम गर्ने सञ्चारकर्मीको मनोबल उच्च राख्न र जीवन सुरक्षाका लागि सामाजिक सुरक्षा कोषमा प्रवेश गरिएको पत्रिकाका सम्पादक रायमाझीले जनाए । लुम्बिनीखबर सञ्चारगृह प्रालि मार्फत् सञ्चालित लुम्बिनीखबर पत्रिका विगत १४ वर्षदेखि नियमित प्रकाशनमा छ । यो संस्थामा हाल कर्मचारी र पत्रकार गरी कुल १७ जना कार्यरत छन् ।








प्रतिकृया दिनुहोस्