May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

डेढमहिना अघिदेखिको तीज पर्वको मौलिकता

Advertisement

तीज पर्व डेढमहिना अघिदेखि नै सुरु हुन्छ तर त्यसलाई मान्ने तरिकाले भने वर्तमान समयमा फरक रूप लिँदै आउन थाल्यो । पौराणिक कालमा पार्वतीले महादेव प्राप्तिका लागि निरहार व्रत बसी आफ्नो मनोकामना सिद्ध गरेको विश्वासले तीजको व्रत बस्ने चलन सुरु भएको भनाई छ ।

Advertisement

तीज पर्वलाई तीन रूपमा विभाजन गरेर गर्ने गरिन्छ । श्रवाण महिनामा पूणर््िामाको तेस्रो दिन हरियाली तीज पर्छ । त्यसै दिन पर्वतीलाई शिवजीसँग विवाह गर्ने इच्छा प्रकट भएको थियो । पौराणिक कथामा उल्लेख यो पर्व मानव सभ्यताको विकाससँगै खेतीपातीको रोपाइँको समय सकिएपछि हिलाले खाएको आफ्नो हातखुट्टामा तिउरी अर्थात् मेहेन्दी लगाएर आफ्नो शरीरको सुरक्षा गर्नुका साथै पोषिला खानेकुरा खाने परम्परा बस्यो । यसलाई एउटा छोटो तीजको रूपमा नै लिन थालियो । यस समयमा जतात्यतै हरियालीले मनमा उमङ्, हर्ष, उल्लास उत्पन्न हुने भएकाले पनि हरियाली तीज पर्व नाम दिएको मान्यता छ ।

त्यसको १५ दिनपछि काजरी तीज मनाइन्छ । यस दिन विवाहित महिलाहरूले आफ्नो मातापिताको घरमा गएर झुला तयार गरी खुसीको साथमा भजनसँग तीज गीत गाउने परम्परा छ । सबै महिलाहरू एकै ठाउँ जम्मा भएर नाचगाान गर्ने गरिन्छ । कृष्णको आगमनलाई भव्यताका साथ सबै परिवार एकै ठाउँमा बसेर स्वगत गरिन्छ । कृष्णजन्माष्टीको अघिल्लो दिन पनि दर खाने परम्परा छ । त्यसको १५ दिनपछि हरितालिका तीजका रूपमा मनाउने परम्परा हो ।

यस दिन पार्वतीको पिताले पर्वतीको विवाह विष्णुसँग गरिदिने प्रशङ्ग उठाएपछि पर्वतीले आफ्नो साथीहरूको सहयोगमा आफै अपहरण भएर महादेवलाई पति रूपमा पाउन तपस्यमा लिइन् भन्ने पौरणिक कथा छ । पार्वतीलाई सखीहरूले हरण गरी वनमा लगेको हुँदा हरत–आलिका– हरतालिका, हरित (अपहह्त)–अलिका– हरितालिका यसरी दुबै नामले प्रचलित छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयका दिन तीजको निरहार व्रत बस्ने परम्परा पौराणिक कालदेखि नै रहेको परम्परा स्पष्ट हुन्छ । पार्वती तपस्यमा लिन भएपछि उनले पानी पनि नखाई एकान्तमा एक्लै तप गरेर बसेको प्रसङ्गले पनि तीजको दिन निराहार व्रत बस्ने परम्परा बसेको हुनुपर्छ भन्ने पौराणिक मान्यता रहिआएको छ । साथै यसै दिन भगवान श्रीकृष्णको न्वारनको दिनका रूपमा लिने हुँदा विशेष हर्षोल्लासका साथ मनाउने चलन चलिआएको छ ।

तीजको अघिल्लो दिन दर अर्थात् दरो किसिमले मिठो–मिठो खाना खाने परम्परा त्यतिबेलादेखि नै रहि आएको हो । व्रतको दिन पेट अडिलो होस भनेर बिहान कुखुरा नबासुन्जेल दर खाने चलन हाम्रा पूर्वजले बसालेका थिए । व्रत–उपवास बसेर परिवारको सुस्वास्थ, दीर्घायु हुने कामना गर्ने चलन रहेको हो । तीजको अघिल्लो दिन शुद्घ शाकाहारी खाएर व्रत बस्ने चलन रहेको होे । पार्वतीले निराहार व्रत बसेर तपस्या गरेको र आफ्नो मनोकामना पुरा भएको थियो । त्यसैले बिहे नगरेका चेलीहरूले यस दिन निराहार व्रत बसे आफूले चाहेजस्तो पति पाउने जनविश्वास छ । टाडाटाडा विहे गरेर दिएका चेलीबेटी माइत जाने फूर्सद र समय तीजकै बेला हुने भएकाले पनि त्यसदिन माइतमै रहेर श्रीमानको लामो आयुको कामना गर्ने परम्परा रहेको जनविश्वास छ ।

आस्था र विश्वासले भरिएको हाम्रो सस्ंकृति परम्परादेखि चल्दै आएको पाइन्छ । एकजना महिलाले मलाई प्रश्न गर्दै सोध्नुभयो, ‘व्रत बसेरै श्रीमानको आयु लामो हुने भए कोही पनि पुरुषको मृत्यु हुँदैन्थ्यो होला नि ।’ अहिलेको परिवेशमा यस्तो तर्क चल्नु स्वभाविक कुरा हो । के वास्तवामा तीजको व्रतले श्रीमानको आयु लामो हुने हो त ? सैद्धान्तिक ज्ञानमा भन्दा पनि व्यवहारिक ज्ञानमा के देखिन्छ त ? विभिन्न कोणबाट अध्ययन गर्दा माइत आएको चेलीलाई माइतीले मीठो परिकारहरू खानदिने र धेरै खादा पनि सञ्चो नहुने भएकाले पनि व्रतले पेटलाई खाली गराउने र मानिसलाई निरोगी हुन सहयोग गर्ने व्यवहारिक ज्ञानमा देखिन्छ ।

मनमा विश्वास र आस्थाले देवीदेवतालाई आराधाना गरेर यसरी व्रत बस्दा शरीरमा सकारात्मक ऊर्जा पैदा हुने गर्दछ । व्रत भनेको एकाग्रको माध्यम हो । कामकाजी विरामी, रोगी तथा अशक्तलाई जरुरी छैन । देखावटी रूपमा व्रत बस्नु भन्दा पनि आफूले सकेको गर्ने हो । मनलाई शान्ति राख्ने हो, आत्माले जे भन्छ त्यहीं गर्ने हो । सक्छौं भने अहङ्कार, अरुलाई दुःख दिने प्रवृत्ति, घमण्ड, दुराचार, अहित, बेविचारी, स्वर्थी प्रवृत्ति त्याग गर्नु सबै भन्दा ठुलो धर्म हो ।

हामीले कर्मअनुसार नै फल पाउने हो । हाम्रो परम्परा र संस्कृति कुनै न कुनै देवी देवताप्रति आस्था रहेर नै मनाउने गरिन्छ । जसले गर्दा स्वयंमा सकारात्मक ऊर्जा र विश्वास प्राप्त हुन्छ । मानवसभ्यताको विकाससँगै मानिसमा आस्था, विश्वासले नै सकारात्मक ऊर्जा दिन्छ भन्ने कुरा पौराणिक कालदेखि नै मान्य भएको कुरा हामी अध्ययन गर्न सक्छौं । तीज पर्व सबै समुदायमा आआफ्नो अनुकुल, सभ्यता संस्कृतिअनुसार मनाउँदै आएको पाइन्छ । तीजको सबैमा शुभकामना ।