लुम्बिनी प्रदेशका १० जिल्लामा नयाँ डीएफओ


भैरहवा– लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले सरुवमा थिति बसाउन दुई वर्ष पुगेका वन समूहका कर्मचारीको सरुवा गरेको छ । यससँगैं प्रदेशका १० जिल्ला वन डिभिजन कार्यालयका प्रमुख हेरफेर भएका छन् । प्रदेश अन्तर्गत १४ वटा डिभिजन वन कार्यालय छन् । ती मध्ये १२ वटामा डिभिजनल वन अधिकृत (डीएफओ) फेरिएका छन् । नयाँ प्रमुख भएपछि कार्यशैलीमा परिवर्तन हुने र काममा नयाँ पन देखिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एउटै कार्यालयमा दुई वर्ष अवधि पूरा गरेका डीएफओको सरुवा गरेको जनाएको छ । मन्त्रालयका अनुसार यसपटक रोल्पाका प्रेमशंकर चौधरी र पाल्पाका नारायणदेव भट्टराईको मात्र सरुवा भएनन् । उनीहरुको दुईवर्षे अवधि नपुगेकाले सरुवा नगरिएको हो । गुल्मीबाट जीवन पंगेनी पश्चिम नवलपरासी सरुवा भएका छन् । उनी मंगलबार कार्यालयमा हाजिर भइसकेका छन् । मन्त्रालयले अर्घाखाँचीका डीएफओ ईश्वरीप्रसाद पौडेललाई दाङ र दाङका मोहन श्रेष्ठलाई अर्घाखाँची पठाएको छ । रुकुमपूर्वका डीएफओ जितेन्द्रसिंह खड्कालाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बुटवल सारिएको छ ।
वन मन्त्रालयले सहायक रेञ्जरदेखि अधिकृत तहसम्मको सरुवा गरेको हो । मन्त्रालयका सहायक वन अधिकृत केशर खड्काका अनुसार सातौं–आठौं तहका ८५ जना, पाँचौं–छैठौंका ३९, फरेस्ट १० जना र २३ जना वन रक्षक गरी १ सय ५७ जनालाई मन्त्रालय सचिवस्तरीय निर्णयबाट हेरफेर गरेको हो ।
‘लामो समय एकै ठाउँमा बस्दा प्रभावकारिता घटेर जाने भएकाले दुई वर्ष अवधि पुगेका सबैलाई नयाँ ठाउँमा मन्त्रालयले जिम्मेवारीमा खटाएको छ,’ मन्त्रालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी डिलाराम पौडेलले भने, ‘नयाँ जिल्लामा काम गर्न ऊर्जा हुन्छ ।’
मन्त्रालयअन्तर्गत लुम्बिनीका १२ जिल्लामा १४ वडा डिभिजन वन कार्यालय रहेका छन् । कपिलवस्तुको तौलिहवा र चन्द्रौटा एवं दाङको घोराही र देउखुरीमा डिभिजन वन कार्यालय छन् भने अरु जिल्ला सदरमुकाममा एउटै कार्यालय रहेका छन् । लुम्बिनीमा ८६ वटा सव–डिभिजन कार्यालय सदरमुकामबाट टाढा र गाउँमा छन् । डिभिजन वन कार्यालयमा सरुवा भएका नयाँ डीएफओले सव–डिभिजन कार्यालयमा नयाँ वन अधिकृत खटाउने छन् । प्रायः सबैजसो सव–डिभिजन कार्यालयका अधिकृत हेरफेर भएका छन् । लुम्बिनी प्रदेश सरकारले वनलाई राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा राखेको छ ।








प्रतिकृया दिनुहोस्