May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

लुम्बिनीमा दुई वर्ष पूरा गरेका वन कर्मचारीको एकैपटक सरूवा

Advertisement

भैरहवा– लुम्बिनी प्रदेश सरकार अन्तर्गत वन तथा वातावरण मन्त्रालयले एउटै कार्यालयमा दुई वर्ष पूरा गरेका कर्मचारीको सरुवा गरेको छ । लामो समयदेखि एउटै कार्यालयमा बिताएका कर्मचारीलाई वन मन्त्रालयले सरुवा गरेको हो ।

Advertisement

वन मन्त्रालयका अनुसार गत साता १५७ जना कर्मचारीको सरूवा गरिएको हो । मन्त्रालयले नयाँ आर्थिक वर्ष लागेपछि नियमित भन्दै एकैपटक १५७ जना वन कर्मचारीको सरूवा गरेको जनाएको छ । मन्त्रालयद्वारा सार्वजनिक सूचीमा दुई वर्षभन्दा बढी अवधि एउटै कार्यालयमा बिताएका अधिकृतदेखि रेन्जरहरुको सरुवा गरिएको हो ।

वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले एउटै कार्यालयमा लामो समय बिताउँदा कर्मचारीको कामको प्रभावकारितामा असर पुग्ने र समस्याहरु सिर्जना हुने भएकाले सरुवाको निर्णय गरिएको जनाए । प्रदेश वन सेवा सहायक तृतीयदेखि अधिकृत आठौं तहसम्मका कर्मचारीको सरूवा गरिएको हो । दोस्रो चरणमा वन रक्षक तहसम्मै यसप्रकारको सरुवा गर्ने तयारी रहेको मन्त्री कुर्मीले जनाएका छन् ।

गतवर्ष मन्त्रालयले एउटै स्थानमा ७ वर्षभन्दा बढी समय काम गरेका कर्मचारीको सरुवा गरेको थियो । वन प्रशासनलाई चुस्त र प्रभावकारी तुल्याउन मन्त्रालयले पहिलोपटक यस्तो निर्णय गरेको मन्त्रालयका एक अधिकृतले जानकारी दिए । लुम्बिनी प्रदेशमा अहिलेसम्म दुई वर्ष सेवा हद कुनै मन्त्रालयले लागू गर्न नसकेको अवस्थामा वन मन्त्रालयले यस्तो निर्णय कार्यान्वयन गरेको हो ।

कर्मचारीको सरुवा व्यवस्थाका लागि ऐनमै उक्त व्यवस्था समेटिएको भएपनि पहिलोपटक वन मन्त्रालयले कार्यान्वयन गरेको हो । सरोकारवालाले सुशासन र चुस्त प्रशासनका लागि वन मन्त्रालयले गरेको यो निर्णय प्रशंसनीय रहेको प्रतिक्रिया दिएका छन् । मन्त्रालयले गरेको सुधारात्मक कदम रोक्न केही कर्मचारीले लबिङ सुरु गरेको उक्त मन्त्रालय स्रोतले बतायो ।