May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

धोकेबाज श्रीमतीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिँदा पुरुषलाई उल्टै जेल सजाय

Advertisement

आफ्नी धोकेबाज पत्नीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिएबापत एकजना ताइबानी पुरुषलाई उल्टै जेल सजाय भएको छ ।

Advertisement

ती व्यक्तिले आफ्नी पत्नी परपुरुषसँगको अवैध सम्बन्धमा रहेको बेला रंगेहात समाएका थिए । तर, अदालतले भने घरमा गोप्य क्यामेरा जडान गरेर पत्नीको गोपनीयता हनन् गरेको भन्दै उल्टै ती पुरुषलाई ३ महिनाको जेल सजाय सुनाएको हो ।

फान नामक ती व्यक्तिको धेरै वर्षअघि बिहे भएको थियो र सो दम्पतीका २ वटा सन्तान छन् । तर, उनलाई केही महिनाअघिदेखि नै आफ्नी पत्नीको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको शंका लाग्यो । त्यसपछि उनले पत्नीको कर्तुतको पर्दाफास गर्नका लागि घरको बैठक कोठामा राखिने पियानोमा गोप्य ढंगले निगरानी क्यामेरा जडान गरे । त्यस्तै बेडरुममा रहेको कम्प्युटरसँगै पनि उनले अर्को क्यामेरा जडान गरे । त्यसरी क्यामेरा जडान गरेको दुई हप्तामै उनकी पत्नी एकजना अपरिचित पुरुषसँग बेडरुममै अन्तरंग क्रियाकलापमा संलग्न भएको दृश्य क्यामेरामा कैद भयो ।

आफ्नी पत्नी अर्कै पुरुषसँग सल्किएको सप्रमाण फेला पारेपछि उनले पत्नीसँग डिभोर्स मागे र सोही भिडियो क्लिपसहित डिभोर्सको मुद्दा हाल्ने निधो गरे ।

त्यसअघि सन् २०२२ को फेब्रुअरीमा उनले पत्नी र उनका वकिललाई सम्बन्ध विच्छेको छलफलका लागि बोलाएका थिए । तर, त्यसमा सहमति जुट्न नसकेपछि उनले पत्नीविरुद्ध आफ्नो सार्वजनिक छवि ध्वस्त बनाएको भन्दै अदालतमा अर्को मुद्दा हाले ।

तर, उनकी पत्नी पनि के कम ? पतिले आफ्नो सहमतिविना घरमा गोप्य क्यामेरा जडान गरेर आफ्नो गोपनीयता हनन् गरेको भन्दै उनले स्थानीय प्रहरी चौकीमा उजुरी दिइन् । साथै उनले सोही अभियोगमा अदालतमा समेत मुद्दा हालिन् ।

अदालतमा ती पुरुषले घरमा छोराछोरीहरूले आमा धेरैबेर बाथरुममा हराउने गरेको भनेपछि त्यही चिन्तालाई दूर गर्नका लागि क्यामेरा जडान गरेको जिकिर गरे । तर, न्यायाधीशले सो कुरा पत्याएनन् ।

अन्ततः गत वर्षको अन्त्यतिर ताओयुआन अदालतले सम्बन्धित व्यक्तिको सहमति तथा वैध कारण विनै अरु व्यक्तिको गोप्य गतिविधिको दृश्य खिचेको भन्दै फानलाई तीन महिनाको जेल सजाय सुनायो ।

उनले माथिल्लो अदालतमा पुनरावेदन गरेको भए पनि अदालतले तल्लो तहको फैसलालाई सदर गरेसँगै ती पुरुष ३ महिना जेल बस्नुपर्ने भएको हो । -agency