May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

अचम्मको सजायः धेरै टिभी हेरेको भन्दै छोरीले कचौरामा आँसु जम्मा गर्नुपर्ने

Advertisement

दक्षिण चीनको युलिनमा एकजना पुरुषले आफ्नी बालिका छोरीलाई दिएको सजायले अहिले निकै विवाद सिर्जना गरेको छ ।जियाजिया नामकी ३ वर्षीया बालिकालाई अत्यधिक टेलिभिजन हेरेकफ भन्दै उनका पिताले निकै क्रुर सजाय दिएका हुन् ।

Advertisement

बेलुकीको खाना तयार पारेर खानका लागि बोलाउँदासमेत छोरीले सुनेको नसुन्यै गरी टिभीमा आँखा गाडेर बसेपछि रिसाएका ती व्यक्तिले दौडिंदै गएर टेलिभिजन बन्द गरिदिए । त्यसपछि ती बालिका रुन थालिन् ।

त्यसपछि उनले रोइरहेकी छोरीलाई एउटा ठुलो आकारको खाली कचौरा दिए अनि भने- तिमीले अब यो भाँडो आँसुले भरेपछि मात्रै फेरि टिभी हेर्न पाउँछौं ।

त्यसपछि जियाजिया भक्कानो छाडेर रुन थालिन् र अनुहारभन्दा तल उक्त कचौरा राखेर आँखा निचोर्दै आँसु जम्मा गर्न थालिन् । त्यो दृश्यको भिडियो जियाजियाकी आमाले क्यामरामा कैद गरिन् ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार करिब १० मिनेटसम्म त्यसरी आँसु जम्मा गरेपछि जियाजिया थाकिन् । आफ्ना हातले अब कचौरा समाउन नसक्ने भन्दै उनले कचौराभरि आँसु जम्मा गर्न सम्भव नभएको बताइन् ।

त्यसपछि बुवाले जियाजियालाई मुस्कुराउन भन्दछन् अनि अनुहारभरि आँसु लत्पतिएकी बालिका हाँस्ने प्रयास गर्दछिन् ।

चिनियाँ सोसल साइटमा भाइरल बनिरहेको उक्त भिडियोमा मानिसहरुले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् । कतिपयले बालिकाको सुरुवाती आँटको प्रशंसा गरेका छन् भने कतिपयले उनका बुवाले उचित अभिभावकत्व नदेखाएको टिप्पणी गरेका छन् ।

स्मरण रहोस् चीनमा अभिभावकहरुले आफ्ना छोराछोरीलाई अनुशासनमा राख्नका लागि सख्त उपायहरू अपनाएका भिडियोहरु बारम्बार आइरहन्छन् ।

सन् २०२२ मा हेबेइ प्रान्तमा एकजना पुरुषले आफ्नी ११ वर्षीया छोरीलाई नैतिक शिक्षाको बारेमा सिकाउनका लागि भन्दै चर्को घाममा कमलको जराको लागि खाडल खन्न लगाएको भिडियो सार्वजनिक भएको थियो । -agency