June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

वन मन्त्रालयद्वारा बर्दियाका साढे ६ हजार वन्यजन्तु प्रभावित स्थानीयको बिमा

Advertisement

भैरहवा– राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्र नजिकका स्थानीयले वन्यजन्तुबाट भोगिरहेको समस्यालाई समाधान गर्न विभिन्न पहल भइरहेका छन् । सकभर क्षति हुन नदिने र भइहाले न्युन क्षतिमै सीमित गर्ने प्रदेश सरकारको पहलकदमी रहँदै आएको छ । पछिल्लोपटक लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले वन्यजन्तु प्रभावित क्षेत्रका साढे ६ हजार बढी स्थानीय नागरिकको क्षति बिमा गरेको छ । यसले निकुञ्ज र वन क्षेत्रमा बस्ने नागरिकलाई ठूलो राहत मिलेको छ ।

Advertisement

मन्त्रालयले बर्दियाका सामुदायिक वन उपभोक्ता समूहमा रहेका स्थानीयको विमा गरेर सकारात्मक सुरुवात गरेको हो । प्रदेश वन तथा वातावरण मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्काले राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयसँगको समन्वयमा बर्दियाका ११ वटा सामुदायिक वन उपभोक्ता समूह मध्येबाट वन्यजन्तु अति प्रभावित क्षेत्रका ६ हजार ७५६ जना स्थानीय नागरिकको क्षति बिमा गरिएको जानकारी दिए ।

वन मन्त्रालयका सचिव मोहनराज काफ्ले र राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयका प्रमुख नवीन शर्मा पौडेलबीच आगामी आर्थिक वर्षबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको हो । ‘वन क्षेत्र नजिक रहेका नागरिकलाई हामीले सुरक्षित गर्न विभिन्न प्रयास गरिरहेका छौं । अहिले बिमा समेत गर्न सफल भएका छौं’, उनले भने, बिमा कार्यक्रमले त्यहाँका नागरिकलाई ठूलो राहत मिल्ने छ, क्षति भइहाले विमाबाट क्षतिप्रर्ति पाउने प्रबन्ध भएको छ ।’

बिमा भने आगामी आर्थिक वर्ष ०८१–८२ बाट लागु हुनेछ । क्षति बिमाले वन्यजन्तुबाट घाइते नागरिकको उपचार खर्चमा राहत मात्र नभएर मानव वन्यजन्तुबीच समयसमयमा हुने द्वन्द्वलाई समेत न्यूनीकरण गर्न सहयोग पुर्याउने खड्काले जनाए ।

‘वन्यजन्तु अति प्रभावित क्षेत्रका स्थानीय नागरिकको वन्यजन्तुबाट हुने सबै किसिमको क्षति बिमा गरेका छौँ । यसबाट वन्यजन्तुको आक्रमणमा परी घाइते हुने व्यक्ति तथा मृत्युसमेत हुने नागरिकका परिवारलाई राहत मिल्नेछ’, उनले भने ।

वन्यजन्तुको आक्रमणमा परी हुनसक्ने सबै किसिमको क्षति बिमा गरिएको मन्त्रालयले जनाएको छ । बिमा लागूपछि कुनै नागरिकको मृत्यु भइहालेमा मन्त्रालयको तर्फबाट आठ लाख रुपैयाँ र इन्स्योरेन्स कम्पनीको तर्फबाट दुई लाख रुपैयाँ गरी दश लाख रुपैयाँ मृतकको परिवारलाई उपलब्ध गराइने छ ।

बर्दियाकै मध्यवर्ती क्षेत्रमा रहेका स्थानीय नागरिकलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन तथा घरपालुवा पशुपन्क्षीको हानी नोक्सानी हुन नदिनका लागि जङ्गलक्षेत्र र मानववस्तीबीच पर्खाल लगाइएको छ । मानववस्ती र जङ्गलको बीचमा लगाइएको पर्खालले मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुने आशा गरिएको खड्काले जनाए । ‘पर्खालले वन्यजन्तुबाट हुन सक्ने मानव तथा घरपालुवा पशुपन्क्षीलाई हुने आक्रमणमा कमी मात्रै नभएर मानवबाट वन्यजन्तुमाथि हुने आक्रमणसमेतमा न्यूनीकरण हुनेछ’, उनले भने ।

विगत तीन वर्षदेखि यो योजना निरन्तर चलिरहेको छ । ‘यो आर्थिक वर्षसम्ममा करिब १४ सय मिटर लम्बाई भएको अग्लो पिल्लरसहितको आरसीसी पर्खाल निर्माण भइसकेको छ’, मन्त्रालयका सचिव काफ्लेले भने । पर्खाल निर्माणका लागि मन्त्रालयबाट यो चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजित भएको थियो । यसबाट करिब ९ किलोमिटर लामो पर्खाल बनाउने योजना हो । आर्थिक वर्ष ०८५–८६ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।