May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

लुम्बिनी सांस्कृतिकका नगर प्रहरीले पूरा गरे एक महिनाको सुरक्षा तालिम

Advertisement

भैरहवा– लुम्बिनी सांस्कृतिक नगरपालिकाले छनौंट गरेका डेढ दर्जन नगर प्रहरी दिक्षित भएका छन् । नगर प्रहरीका लागि सञ्चालन भएको तालिम पूरा भएपछि उनीहरुलाई दिक्षित गरिएको हो । मंगलबार बिहान तालिम समापन भएको छ । उनीहरूलाई रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले हे.क्वा.ले आधारभूत तालिम प्रदान गरेको थियो ।

Advertisement

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम नगरपालिकाले छनौंट गरेका १५ जनालाई गणले एक महिनासम्म सुरक्षा तालिम प्रदान गरेको थियो । २७ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाका अनुसार तालिममा सहभागीलाई सरकारी सम्पत्ति सुरक्षा, कार्यालय सुरक्षा, विपत व्यवस्थापन, हुलदंगा नियन्त्रण, विशिष्ट व्यक्ति सुरक्षा, राहत वितरण, प्राथमिक उपचार, अग्नि नियन्त्रण, नगर प्रहरी आचारसंहिता लगायत व्यवहारिक ज्ञान प्रदान गरिएको हो ।

सशस्त्र प्रहरी हेडक्वाटरले स्वीकृत गरेको पाठ्यक्रम अनुसार तालिम प्रदान गरिएको थापाले बताए । ‘तालिममा सिकेका कुरा अक्षरश पालना गर्ने विश्वास छ,’ उनले भने, ‘आगामी दिनमा तपाईंको पेशागत दक्षता थप बृद्वि गर्न सशस्त्र प्रहरीले सहयोग गर्नेछ ।’

तालिम पूरा गरेका नगर प्रहरीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले प्रमाणपत्र प्रदान गरेका थिए । नगर प्रहरीको सक्रियताले सुरक्षा व्यवस्थापनसँगै राजश्व बृद्वि हुने उनले विश्वास व्यक्त गरे । तालिममा विभिन्न विधामा उत्कृष्टलाई सिद्वार्थ नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजन, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, नेपाल प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर, राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक हरिश विष्ट लगायतको सहभागिता रहेको थियो ।