May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

किन टोक्छन् मानिसले नङ ?

Advertisement

केही खराब आचरणका कारण मानिसको स्वास्थ्यमा त प्रतिकूल प्रभाव परेको हुन्छ नै, समूहमा बस्दा समेत घृणाको पात्र बन्न सक्छ। यस्तै खराब स्वभाव हो नङ टोक्ने। यो साझा र निकै फोहोरी बानी हो। तैपनि लाखौं मानिसले नङ टोक्न छाडेका छैनन्। आखिर किन यस्तो भइरहेको छ त ?

Advertisement

यसबारे मनोविज्ञहरु आआफ्ना तर्क गर्छन्। एक विज्ञका अनुसार मानिसले अत्यधिक नकारात्मक सोच आयो भने नङ टोक्छ। तनाव र चिन्तालाई व्यवस्थापन गर्ने हो भने मानिसले यस समस्याबाट मुक्त पाउन सक्छ। गहिरो पीडा सहन नसकेपछि मानिसले आफ्नै अंगसँग प्रतिक्रिया जनाउने क्रममा नङ टोक्ने हर्टफोर्डसाइर युनिर्भसिटीका प्राध्यापक करिन पाइन बताउँछन्।

‘नङ टोक्नु अप्रिय समाचार वा घटना वा वातावरणको प्रारम्भिक रेस्पोन्स हो। प्रारम्भिक रुपमा यसले आवेगलाई नियन्त्रण पनि गर्छ,’ करिन भन्छन्, ‘कोही मानिसमा कपालका रौं उखेल्ने वा छाला तान्ने समस्या छ भने त्यो व्यक्ति अत्यधिक तनावमा छ भन्ने बुझ्दा हुन्छ।’
त्यसो भए नङ टोक्ने सबै मानिस चिन्तित हुन् त ? चिन्ता नै नहुने बालबालिकाले किन टोक्छन् त ? करिनको तर्कपछि यस्तै तर्क उब्जिन थालेका छन्। केही विज्ञहरुका अनुसार नङ टोक्ने, कपालका रांै तान्ने, छाला उखेल्ने वा आफ्ना औंला टोक्ने, नाक कोट्याउने मानिसको बानी वा आचरण हो। कोही भने यसलाई पूर्ण रुपमा सन्की र सूक्ष्म मानसिक असन्तुलनको संज्ञा दिन्छन्।

जे भए तापनि सबै विज्ञहरु तनावकै कारण नङ टोक्ने लगायतका अस्वाभाविक बानी प्रदर्शन नहुने बताउँछन्। बरु यो अपूर्णताको संकेत भएको एक क्यानेडेली अध्ययनले दाबी गरेको छ।

‘बारम्बार यस्तो आचरण देखाउने मानिसले पूर्णतालाई अस्वीकार गरेका हुन्छन्। यसको अर्थ अरुलाई सामान्य लाग्ने घटना वा वातावरणमा पनि उनीहरु खुसी वा सन्तुष्ट हुन सक्दैनन्,’ मन्ट्रियल विश्वविद्यालयका प्राध्यापक किरोन ओ कनोर भन्छन्, ‘त्यस कारण आफ्नो उद्देश्य वा लक्ष्य पूरा नहुँदा उनीहरुमा हतासा, अधैर्य र असन्तोष हुने खतरा हुन्छ।’ उनीहरुले सामान्य मानिसले भन्दा बढी दिक्क मान्ने पनि उनी बताउँछन्।

यसबारे अन्य सिद्धान्तको पनि विकास भएको छ। अस्ट्रेलियाको नेसनल युनिर्भसिटीका मनोविज्ञ रिचार्ड ओ केइरनेका अनुसार छुवाइको भिन्दै अनुभूति वा ज्ञान हुने मानिसहरुले पनि नङ टोक्छन्। ‘नङ काट्ने झन्झट नगर्नेले पनि यस्तो बानी देखाउँछन्,’ उनी थप्छन्।

नङ टोक्दा त्यसको असर सौन्दर्यमा पनि अवश्य पर्छ। नङ कुरुप देखिनुका साथै औंलाको सौन्र्दय नै हराउँछ। ‍औंलाको टुप्पोबाट रगत पनि बग्छ। बारम्बार नङ टोक्ने आदत भएमा मनोविद् वा काउन्सिलरको सहयोग लिनुपर्ने चिकित्सकहरुको राय छ।