May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

लुम्बिनीमा आज भारतीय कलाकार काकाली बोसको कार्यक्रम

भैरहवा– भारतीय राजदूतावास काठमाडौं, स्वामीविवेकानन्द सांस्कृतिक केन्द्र र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आज (आइतबार) सांस्कृतिक कार्यक्रम हुने भएको छ । आज साँझ ५ बजे पछि आयोजना हुने कार्यक्रममा प्रख्यात भारतीय कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मण्डलीले मनमोहक ओडिसी नृत्य प्रस्तुत गर्ने छन् ।

Advertisement

कार्यक्रमका स्थानीय समन्वयकर्ता तथा नेपाल–भारत मैत्री मंच, रुपन्देहीका अध्यक्ष सिद्धार्थ अग्रवालले कलाकार काकाली बोसको नेतृत्वमा सुतनुका दास, अर्कोपला बोस, अर्घा चटर्जी, चिरासरी रोय, मम्पि दास, तनुजा मल्लिक, अन्नपूर्णा घोषको सांस्कृतिक कार्यक्रममा प्रस्तुती रहने जनाए ।

Advertisement

कार्यक्रम लुम्बिनीको पूर्वी बिहार क्षेत्रको लुम्बिनी स्कवायरमा हुने छ । कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, लुम्बिनी विकास कोषका पादधिकारी, लुम्बिनीमा रहेका बिभिन्न बिहारका प्रतिनिधि, उद्योगी, व्यवसायी, सर्बसाधारण, बिद्यार्थी, नागरिक समाज, बिभिन्न राजनैतिक दलका प्रतिनिधि, पत्रकारका साथै भारतीय दुताबासका प्रथम सचिव अविनाकुमार सिंह, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दुताबास काठमाडौंका निर्देशक डा.आसावारी बापट, भारतीय दुताबासका अटैची सत्येन्द्र दरिया लगायतको उपस्थिति रहने बताइएको छ ।

कार्यक्रममा सहभागीका लागि कुनै शुल्क नलाग्ने र जो कोही आएर सहभागी हुन सकिने अध्यक्ष अग्रवालले बताए । भारतीय दुताबासले लुम्बिनीमा बिभिन्न समयमा कार्यक्रहरु गर्दै आएको छ ।