बीमाप्रति विश्वसनीयता बढाउनु पर्छ: मुख्यमन्त्री


दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनु पर्ने जनाएका छन् । विश्वसनीयता बढेमात्रै यसको महत्व र आबश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमा क्षेत्रमा गुमिरहेको विश्वास फर्काउनु पर्नेमा जाेड दिए ।
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बीमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले साे कुरा बताएका हुन् । उनले कोरोना पछि बीमा कम्पनीहरुको विश्वास गुम्दै गएको भन्दै अव विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आबश्यकता अनुसार बीमा नीति बनाउने जानकारी दिए।
विश्वमा बीमा राम्रो छ,´ उनले भने,बीमा सुविधा प्राथामिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ ।´ उनले विमा नीति आबश्यक रहेकाे जनाए । उनले भने, `बीमाले त्यो विश्वास दिलाउन सक्नुपर्छ । बीमा कम्पनीहरुको गलत कार्यको नियमन प्राधिकरणले गर्नुपर्छ, कुरा गरे अनुसार काम गर्नु पर्छ र काम गर्न सक्ने मात्रै बीमा वालाले कुरा गर्नुपर्छ ।´
कार्यक्रममा सहभागीहरुले बीमा भुक्तानीमा समस्या र झन्झट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरुले कोरोना बीमाकाे रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासो समेत गरेका थिए । त्यसै गरेर कृषिमा वाली बीमा गर्नुपर्ने, पूर्वाधारको बीमा गर्दा सहज हुनु पर्ने र जीवन बीमामा भुक्तानीमा छिटोछरितो गरिनु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा अर्थमन्त्री धनबहादुर मास्की, स्वास्थ्य मन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी, प्रमुख सचिव राधिका अर्याल लगायतकाले धारण राखेका थिए । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिग्देल लगायतकाले उठेका विषयबस्तुमा प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूर्णबहादुर थापाले गरेका थिए ।








प्रतिकृया दिनुहोस्