June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

पाल्पाका डाँडैभरी सुरुङ

भैरहवा– रुपन्देहीको छिमेकी पाल्पा जिल्लाका पहाडभरि सुरुङ बनेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका कोइला खानीका कारण सुरुङ बनेका हुन् । दुई दशक अघि जिल्लाको अवस्था यस्तो थिएन । कोइला खानी उत्खनन् थालिएपछि स्थानीय खुसी थिए । तर, अहिले तिनै खानीका कारण जोखिम बढेपछि स्थानीय आत्तिएका छन् ।

Advertisement

स्थानीयका अनुसार कोइला उत्खननका कारण स्थानीयले रोजगारी पाएका थिए । खानीमै मजदुरी गरेर धेरैले जिविकोपार्जन गरेका थिए । अहिले खानीमा काम गरेका व्यक्तिमा विभिन्न समस्या देखिन थालेका छन् । उनीहरु प्रायः बिरामी परिरहन्छन् । पाल्पाको देवीनगर, झडेवाका बासिन्दा कोइला खानी उत्खनन् सुरु हुँदा जति खुसी थिए, अहिले त्यसभन्दा बढी दुःखी छन् । सुरुवातको आम्दानीले स्थानीयको जीवनस्तर केही उकास्यो । एक गाउँका कम्तीमा १५ जना भन्दा बढीले गाउँमै बसेर कोइला खानीमा रोजगार पाए । सिजनमा ५० जना भन्दा बढीले काम पाए । सुरुङ खनेर कोइला निकाल्ने र टेक्टरमा लोड गर्ने काम गर्थे ।

Advertisement

यहाँका बस्तीमा ५०–६० मिटर लामो सुरुङले गर्दा गाउँ बस्ती नै जोखिममा छ । ‘अहिले बल्ल त्यसको असर हामीले भोग्नु परेको छ,’ देवीनगर, उड्डाँडाकै सम्मरबहादुर बरालले भने, ‘त्यसबेलामा क्षणिक रोजगारले सबैलाई खुसी बनायो । अहिले भने समस्यै समस्या देखा परेको छ ।’ यहाँका बासिन्दाले कोइला खन्न नजान्ने भन्दै बोक्ने काम गरेका छन् । अधिकांशले बोक्ने काम पाएका हुन् । केहीले मात्र सुरुङभित्र पसेर काम गरेका थिए ।

कोइला खानी चल्दा देवीनगर र झडेवाका ८० बढीले रोजगार पाएका थिए । बिदाको समयमा विद्यार्थीहरूले पनि कोइला खानीमा काम गरेर पैसा कमाउने र पढाइ खर्च चलाउने गरेका हुन् । पछिल्ला दिनमा देवीनगर र झडेवामा ५ सय बढी कोइला खानी निकालेको सुरुङ छ । माथिल्लो भागमा खानी सकिएपछि अहिले डाँडाको तल्लो भागमा कोइला खोजतलास गरिएको छ । २५ वर्षदेखि खनेका खाल्डाको असर अहिले देखिएको छ । प्रत्येक वर्ष कोइला उत्खनन् गरिएका एक सय भन्दा बढी क्षेत्रमा पहिरो खस्छ ।

कोइलाखानी उत्खननकै कारण थपनडाँडा, मुन्टुङ, काफलडाँडा, मर्सीडाँडा, उड्डाँडा, सिमल्दी, चिर्तुङका साथसाथै झडेवाको देवगीर, पीपलडाँडा लगायतका स्थानमा सय बढी पहिरो खसेको छ । कोइला निकालेका अधिकांश सुरुङमा जमिन भाँसिएको छ । त्यस्ता सुरुङ जथाभावी छाडिँदा स्थानीयका गाईवस्तु फस्ने समस्या बढेको छ । खानी सञ्चालकले सर्त अनुसार कोइला निकालिसकेपछि त्यसलाई पुर्ने र थुन्ने गर्नुपर्छ । तर, त्यसो गरिएको छैन । स्थानीयको गुनासाका आधारमा दुवै पक्षसँग वार्ता र छलफल भएको पालिकाले जनाएको छ ।