June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी घुम्ने स्वदेशी र बिदेशी पर्यटक बृद्धि

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने स्वदेशी तथा बिदेशी पर्यटकको संख्या बृद्धि भएको पाइएको छ । गत वर्षको तुलनामा पर्यटक आगमनमा सुधार देखिएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याएर बिदेशी पर्यटक आउने वातावरण बनाउन उनीहरुले माग गरेका छन् ।

Advertisement

कोरोना महामारीपछि लुम्बिनीमा बिदेशी पर्यटकको संख्या शुन्यजस्तै थियो । मुलुकको प्रमुख गन्तव्यमा महामारीपछि थलिएको पर्यटनमा अहिले उत्साहजनक सुधार देखिएको छ । लुम्बिनी विकास कोषका अनुसार २०२२ मा लुम्बिनीमा ९६ मुलुकका २३ हजार ९ सय ९२ विदेशी पर्यटक आएका थिए । सन् २०२३ को सात महिनामा ६७ मुलकका ३६ हजार ९ सय ९७ पर्यटक आइसकेका छन् ।

Advertisement

सन् २०२१ मा ६८ मुलुकका एक हजार १ सय ९७ विदेशी पर्यटक मात्र यहाँ आएका थिए । यस वर्ष अष्ट्रेलिया, भुटान, कम्बोडिया, क्यानाडा, जापाान, इटाली र नेदरल्याण्डबाट आउने पर्यटक बढेका छन् । कोषको सूचना शाखाका अनुसार यस वर्षको जुलाईसम्म नेपाली, भारतीय र विदेशी गरि ५ लाख ६० हजार ३ सय २५ जनाले लुम्बिनी भ्रमण गरिसकेका छन् ।

सन् २०२३ को ७ महिनामा ३ लाख ७९ हजार ३ सय ६० नेपालीले लुम्बिनी भ्रमण गरेका छन् । यो तथ्यांक मायादेवी मन्दिर अवलोकनको गर्नेको मात्र हो । मायादेवी प्रवेश नगरेर फर्किनेको संख्या गणना गरेमा संख्या बृद्धि हुने कोषले जनाएको छ । यस अवधिमा एक लाख ४३ हजार ९६८ भारतीयले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०२२ मा ६ लाख ४९ हजार ७८ नेपाली र दुई लाख ३० हजार ८ सय ६३ भारतीयले लुम्बिनी भ्रमण गरेका थिए ।

लुम्बिनी बिकास कोषका अनुसार सन् २०२२ मा चीनबाट ४ सय ३२ पर्यटक आएका थिए । सन् २०२३ को जुलाईसम्म मात्र चीनबाट दुई हजार ५ जना आइसकेका छन् । दक्षिण कोरियाका सन २०२२ मा ६ सय १७ जना आएकामा यस वर्षको ७ महिनामा तीन हजार ७२ जना यहाँ आइसकेका छन् । थाइल्याण्ड, श्रीलंका र म्यानमारबाट आउनेको संख्यामा उलेख्य बृद्धि देखिएको छ । सन् २०२२ मा म्यानमारबाट एक हजार ४ सय ९५ पर्यटक आएका थिए । यस वर्ष ७ महिनामा ५ हजार ४ सय २४ जना आएका छन् ।

श्रीलंकाबाट गत वर्ष एक हजार ८ सय ८५ पर्यटक आएकामा यस वर्ष अहिलेसम्म ६ हजार २० आएका छन् । थाइल्याण्डबाट गत वर्ष ४ हजार ३ सय ८० पर्यटक आएकामा यसवर्ष ७ महिनामा ८ हजार ४ सय २३ आएका छन् । बुद्ध जन्मस्थल लुम्बिनी मुलुकमा सबैभन्दा धेरै भ्रमण गरिने पर्यटकीय गन्तब्य हो । ‘पर्यटक धेरै आउनु राम्रो हो,’ पर्यटन उद्यमी संजय बजियमले भने्, ‘तर उनीहरुको बसाई अवधि लम्बयाउने योजना नहुँदा फाइदा लिन सकेका छैनौं ।’

शान्तिको मुहान लुम्बिनी आउन विदेशी लालायित छन् । अक्टोवरदेखि मार्चसम्म पर्यटकीय सिजन हो । त्यही भएर यो समयमा पर्यटकको बसाइँ लम्ब्याउने योजना बनाउन जरुरी भएकोे बताए । धेरै पर्यटकको भ्रमणको रोजाइमा लुम्बिनी पर्न थालेको छ । पर्यटक बढे पनि उनीलाई भुलाउन योजना र कार्यक्रम अभाव छ । बसाइँ अवधी कम छ । ‘अहिले पनि लुम्बिनीमा पर्यटक बसाइँ अवधि लम्ब्याउन सकेकै छैनौं,’ लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘पर्यटक भुलाउने कार्यक्रम जरुरी छ ।’