June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

सशस्त्र प्रहरीद्वारा ५ लाख बढीको मोबाइल कभर बरामद

भैरहवा– भन्सार छलेर ल्याइएको ५ लाख रुपैयाँ भन्दा धेरै मूल्यको आइफोनको विभिन्न कभरहरु सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेवारिसे अवस्थामा उक्त सामान बरामद गरेको हो ।

Advertisement

भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको बसन्तपुर वाइपासमा रहेको एउटा घरको भाडामा दिनका लागि खुल्ला राखिएको सटरबाट सशस्त्र प्रहीको टोलीले ति कभरहरु बरामद गरेको हो ।

Advertisement

गुल्मपति तथा सशस्त्र प्रहरी बलका डीएपी अरुण शर्माले बिशेष सूचनाको आधारमा ति सामाग्री पक्राउ गर्न निस्किएको सशस्त्र प्रहरीको टोलीलाई टाढैबाट देखेपछि तस्करले ति मोवाइलका कभर उक्त सटरमा लुकाएर फरार भएको बताए ।

‘हामीले उक्त सटरको घर धनीसँग सोधपुछ गर्दा उनले भाडामा दिनका लागि सटर खुल्ला राखिएको र उक्त सामान आफ्नो नभएको बताए’, डीएसपी शर्माले भने, ‘बरामद भएका सवै सामान भैरहवा भन्सार कार्यालयमा बुझाएका छौं ।’

उनका अनुसार, बरामद भएका सामाग्रीमा ३ सय २५ थान आइफोनको कभर, आइफोनको ग्लास १ हजार थान र आइफोनकै स्मार्ट वाच कभर २७ थान छन् ।