बजेटको कारण देखाउँदै सेवा बन्द गर्ने विषय आपत्तिपूर्णः कृषिमन्त्री भुसाल


कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने कार्य आपत्तिपूर्ण रहेको बताएका छन्। पशु सेवा विभागले राखेको वार्षिक समीक्षा गोष्ठिमा मन्त्री भुसालले शून्य बजेट भएको कारण देखाउँदै जनतालाई दिने सेवा बन्द गरेको सूचना आएको भन्दै त्यस्तो कार्य गर्ने विषय आपत्तिपूर्ण रहेको बताए।
मन्त्री भुसालले भने, ‘कतिपय कार्यालयले कलम र कागज किन्ने पैसा छैन भन्दै सेवा नै बन्द गरेछन्। यहाँभन्दा गैरजिम्मेवारीपन अर्को हुनै सक्दैन।’ शून्य बजेटलाई खुलाउने प्रयास भइरहेको भन्दै यसमा थप चिन्तित नहुन आग्रह गरे। जनताको सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिँदै मन्त्री भुसालले समस्या राख्ने मात्र नभई समाधानको उपायसमेत खोज्नुपर्नेमा जोड दिए।
‘समस्या देखियो, यसलाई मात्र हेर्नु भएन। समाधानको उपाय पनि खोज्नुपर्छ। सरकारी कर्मचारीलाई सेवा नै बन्द गर्ने छुट हुन्छ ? शून्य बजेट भयो भन्दैमा सरकारी जागिर नै खोसिएको हो ?’
जनतालाई दिँदै आएको सेवा बन्द नगर्न पटक–पटक आग्रह गरेका मन्त्री भुसालले सेवा बन्द गर्ने कर्मचारीलाई कारबाही हुने चेतावनी दिएका छन्। कुन कार्यालयले सेवा बन्द गरेको हो त्यसको यथार्थ विवरण पेश गर्न पशु सेवा विभागलाई मन्त्री भुसालले निर्देशन दिएका छन्।
साथै, मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित भएका किसानलाई राहत दिने तयारी भइरहेको बताए।
प्रधानमन्त्रीसँग यस विषयमा कुराकानी भएको र राहत दिने आधार, मापदण्ड र प्रक्रिया के–कस्तो हुने तत्कालै पशु सेवा विभागलाई गृहकार्य गर्न निर्देशन दिए।
विभागले यसलाई जतिसको चाँडो काम गर्न निर्देशन दिँदै मन्त्री भुसालले भ्याक्सिन खरिद प्रक्रिया अबको एक हप्ताभित्र सक्नुपर्नेमा जोड दिए। भ्यासिन खरिद गरेलगत्तै गाउँ गाउँमा पुगेर पशुको उपचार हुने उनले बताए।
लम्पी स्किन रोग नियन्त्रणमा पशु सेवा विभाग नै बढी लाग्नुपर्ने भन्दै आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्नेे मन्त्री भुसालले आश्वस्त पारे। अरू काम छाडेर भए पनि तत्कालै लम्पी स्किन रोग नियन्त्रणमा लाग्न उनको आग्रह थियो।
मन्त्री भुसालले पशु स्वास्थ्यको महत्व बुझाउन अझै नसकिएको बताए। मानव स्वास्थ्यसँग पशु स्वास्थ्य जोडिएको भन्दै यसको महत्व बुझाउनुपर्नेमा मन्त्री भुसालको जोड छ।
‘पशु स्वास्थ्यको महत्व मानव स्वास्थ्यसँग जोडिन्छ। यो विषयमा पाठ्यक्रम नै तयार पारेर विश्वविद्यालयमा दिऊँँ। पशु सेवा विभागले यस विषयमा प्रभावकारी अभियान चलाओस्। आवश्यकता र सम्भावना पहिल्याएर अगाडि बढ्न जरुरी छ,’ मन्त्री भुसालले भने।
अनुत्पादक क्षेत्रमा लगानी गर्ने तर कृषि र पशुपन्छीको क्षेत्र प्राथमिकतामा नपर्ने गरेको समेत उनले सुनाए।
‘हामीले पानीजहाजका कुरा ग¥यौँ। देशमा यो आवश्यक विषय थियो त ? गाउँगाउँमा एयरपोर्ट बनाएका छौँ, यसबाट कुनै प्रतिफल आएको छ ? भुसालले भने, ‘यता लगाएको लगानी कृषि र पशुपालनको क्षेत्रमा लगाएको भए आज मुलुक आत्मनिर्भर हुने थियो।’ कुनैपनि काम गर्दा वास्तविकतामा टेकेर गर्नुपर्नेमा मन्त्री भुसालको जोड छ।
समस्याको समाधान गहिराइमा गएर मात्र हुन सक्ने उनले बताए। तीन वर्षअगाडि फैलिएको लम्पी स्किन रोग फैलिनुमा थुप्रै कमजोरी भएको बताए। ‘लम्पी स्किनबारे हामी गम्भीर भएनौँ। तीन वर्षपहिले देखिएको रोग विकराल बन्दै गइरहेको छ। हामीले कुनै पनि विषयलाई गहिरो गरी बुझ्न खोज्दैनौँ। छिमेकी मुलुकमा यो रोग महामारीको रूपमा फैलिँदा यहाँ पनि आउँछ भन्ने नसोच्दा आज यो स्थिति भएको हो। पूर्वतयारीका पक्ष हाम्रा कमजोर छन्। यसमा ध्यान जान जरुरी छ’, मन्त्री भुसालले भने।








प्रतिकृया दिनुहोस्