May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंकहरूको धरपकड रोक्न उद्योगी–व्यवसायीको माग

भैरहवा– उद्योगी–व्यवसायीले पुँजीगत खर्च बृद्धि गर्न र बैंकहरुको धरपकड रोक्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन् । यस्तै, उनीहरुले नेपाल आउने भारतीय पर्यटकले नाकामा अनेक समस्या झेलिरहेको भन्दै समाधान गर्न माग गरे । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले सोमबार भैरहवामा अर्थमन्त्री डा.प्रकाशशरण महतसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै निजी क्षेत्रका व्यवसायीले अर्थमन्त्रीसँग दर्जन समस्या राख्दै समाधानका लागि पहल गर्न अनुरोध गरे ।

Advertisement

नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्छ र संचालनमा आउँछ भनेर निजी क्षेत्रबाट ८० अर्ब लगानी भएको तर पूर्णक्षमतामा नचल्दा निराश भएको जनाए । ‘पीडित व्यवसायीलाई अहिले बैंकले विभिन्न बहानामा धरपकड गरिरहेको छ’, उनले भने, ‘समस्यामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । यसलाई सरकारले सम्बोधन गर्नुपर्छ ।’ उनले ढुंगागिटी भारत निकासीको व्यवस्थालाई छिटो कार्यान्वयन गर्न आग्रह गरे । यस्तै, जग्गा कित्ताकाटलाई खुकुलो गराउन पनि उनको आग्रह छ । अध्यक्ष शर्माले पुँजीगत खर्च निराशाजनक भएको भन्दै यसलाई बढाउन माग गरे ।

Advertisement

सिद्धार्थ उद्योग बािणज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विद्युत आपूर्ति नियमित नहुँदा समस्या भइरहेको जनाए । ‘कतिबेला आउँछ र कुनबेला जान्छ भन्ने ठेगान छैन’, उनले भने, ‘विद्युतको सहज आपूर्ति नहुँदा निजी क्षेत्र निकै मर्कामा छ, यसलाई सहज बनाउनुपर्छ ।’ उनले पुँजीगत खर्च बढाउनुपर्ने, जग्गा कित्ताकाटलाई सहज बनाउनुपर्ने, गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्नुपर्ने लगायतका माग अर्थमन्त्री समक्ष राखे । यस्तै, अध्यक्ष श्रेष्ठले भारतीय पर्यटकले २५ हजार रुपैयाँ भन्दा बढी रकम ल्याएर नेपाल आउन नपाउने नियम अव्यवहारिक भएको र यसलाई बढाउनुपर्ने, बैंक व्याज नियन्त्रण गर्नुपर्ने, एकीकृत जाँच चौकी छिटो निर्माण गर्नुपर्ने, निर्माण व्यवसायीको रोकिएको भुक्तानी छिटो दिनुपर्ने, बुटवल–नारायणगढ सडक निर्माणलाई छिटो सक्न पहल गर्न आग्रह गरेका थिए ।

छलफलमा अर्थमन्त्री डा.महतले सीमा क्षेत्रबाट हुने गैरकानूनी त्रियाकलापलाई निस्तेज पारिने बताएका छन् । उनले भन्सार नाकाहरुमा अहिले भइरहेको कडाई सकारात्मक भएको जनाउँदै गैरभन्सार क्रियाकलाप रोक्न सरकार कटिबद्ध रहेको जनाए । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले भने, ‘अहिले भन्सार नाकाहरुमा कडाई गर्दा दैनिक उपभोग्य सामान लिनेलाई पनि रोकिने गरेको भन्ने कुराहरु बाहिर आएको छ, त्यस्ता विषयमा एकपटकलाई व्यवहारिक पक्ष हेरिनुपर्छ तर पटक–पटक गर्नेलाई निरुत्साहित गर्नपर्छ ।’

डा.महतले गैरभन्सार क्रियाकलाप हुँदा स्वदेशी व्यवसायी मर्कामा पर्ने र राजश्वमा पनि असर पर्ने भएकाले यसलाई रोक्नुपर्नेमा जोड दिए । ‘कुनै पनि बहानामा स्वदेशी व्यवसायी मर्कामा पर्नुहुँदैन, सरकारले यसमा सजग छ’, उनले भने । अर्थमन्त्री महतले आइतबार आएको नयाँ मौद्रिक नीतिले अलमलमा परेको अर्थतन्त्रलाई चलायमान गराउने विश्वाससमेत व्यक्त गरे । साथै अर्थतन्त्रमा पनि सकारात्मक संकेतहरु देखा पर्न थालेको उनले जनाए । ‘अहिले मूल्यबृद्धि नियन्त्रण भएको छ, पुँजीगत खर्च बढे यसले राम्रो सन्देश दिनेछ’, उनले भने ।

उनले सरकार सधै निजी क्षेत्रको पक्षमा रहेको उल्लेख गर्दै आवश्यक पर्ने अप्ठ्याराहरुमा सहयोगीको भूमिका खेल्ने प्रष्ट्याए । ‘प्रतिस्पर्धात्मक रुपमा स्वच्छ ढंगले गर्ने व्यवसायलाई सरकारले सधै साथ र सहयोग दिन्छ, यहाँहरुलाई आवश्यक पर्ने सहयोग गर्छौं’, उनले व्यवसायीलाई विश्वस्त पार्दै भने । अर्थमन्त्री डा.महतले पुँजीगत खर्च न्युन हुनु चिन्ताको विषय भएको जनाउँदै यसलाई सुधार गर्न चालु आर्थिक वर्षको कार्तिकभित्र ठेक्का सम्झौता गर्ने गरी अघि बढेको बताए । ‘कतिपय अवस्थामा स्रोत सुनिश्चित नहुँदै योजना ल्याउने र ठेक्का सम्झौता गर्दा पनि समस्या भएको छ’, उनले भने, ‘स्रोत सुनिश्चित गरेर मात्रै कार्य थालनी गर्नुपर्छ ।’

केही कुराहरुमा ध्यान नदिँदा गौतमबुद्ध र पोखरा विमानस्थल पूर्ण क्षमतामा संचालन आउन नसकेको उल्लेख गर्दै सरकारले नियमित संचालनको प्रयास गरेको बताए । ‘भारत लगायत अन्य राष्ट्रहरुसँग कुरा भइरहेको छ, यसले निकास पाउँछ’, उनले भने । उनले सीमा क्षेत्रमा पर्यटक र पर्यटन व्यवसायीले झेल्दै आएका समस्या समाधान गरेर अघि बढ्ने विश्वास दिलाए । उनले भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार रुपैयाँ मात्रै ल्याएर आउन पाउने व्यवस्थालाई पुनर्विचार गर्न राष्ट्र बैंकलाई भनिसकेको र यसले छिट्टै निकास दिने उल्लेख गरे ।