June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

हरियाली र सफा शहर बनाउन बुटवलमा ४५ दिने अभियान

रुपन्देही– बुटवल उपमहानगरपालिकाले मुख्य सडक सरसफाइ तथा वृक्षरोपण अभियान शुरु गर्ने भएको छ । साउन १५ गतेदेखि शुरु हुने ४५ दिने अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

Advertisement

उनले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताए ।

Advertisement

चालु आर्थिक वर्षभित्रमा बुटवललाई उज्यालो, हरियाली, सफा र सुन्दर शहर बनाउँदै उपयुक्त पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजना अगाडि बढाएको उनले जनाए । जसका लागि चालु आर्थिक वर्ष २०८०–०८१ का लागि बुटवल उपमहानगरपालिकाले पर्याप्त बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रम अन्तर्गत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ भने एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगर प्रमुख पाण्डेयका अनुसार मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि विभिन्न प्रजातिका फूल र विरुवा रोपिनेछ । साउन १५ गते शुरु भएको नगरस्तरीय अभियान मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिक स्थलहरु सरसफाइका लागि प्रत्येक महिना नियमित रुपमा सञ्चालन हुने प्रमुख पाण्डेयले जनाए । नगरस्तरीय अभियानबाहेक वडास्तरमा प्रत्येक शनिबार र आवश्यकताअनुसार अभियानकै रुपमा सञ्चालन हुने उनको भनाई छ ।

साउन १५ गते योगीकुटीबाट शुरु हुने अभियानअन्तरगत पहिलो दिन योगीकुटीदेखि राजमार्ग चौराहासम्म, १६ र १७ गते चौराहादेखि भुड्की चोकसम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गते देखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षरोपण गरिनेछ । यस्तै २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा विरुवा संरक्षण, सौन्दर्यीकरण गर्दै बाँकी क्षेत्रमा अभियान सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।

सरसफाइ तथा वृक्षरोपणका लागि बुटवल उपमहानगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयमसेवी संस्थाहरु, क्लबहरुलाई आह्वान गरिएको उनले जनाए ।