सिद्धार्थनगरमा हिलोमाथि रातारात सडक कालोपत्रे, २४ घण्टा नबित्दै भत्कियो सडक


भैरहवा– पप्पु–कोशी एण्ड न्यौपाने–शिवशक्ति जेभीले भैरहवामा एउटा भित्री सडक हिलोमाथि कालोपत्रे गरेको पाइएको छ । उक्त ठेकेदार कम्पनीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित रुपन्देही क्याम्पस रोड (हरिपथ)मा सोमबार राति हिलोमाथि सडक कालोपत्रे गरेको हो । यसको स्थानीयले विरोध गरेका छन् । ठेकेदारले हिलोमाथि कालोपत्रे गरेकै कारण सडक २४ घण्टा नपुग्दै भत्किएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको संघीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीले सिद्धार्थनगर क्षेत्रका विभिन्न ठाउँमा सडक पूर्वाधार विकास गरिरहेको छ । नगर क्षेत्रमा ठेक्का लिएको उक्त ठेकेदार कम्पनीले गुणस्तरको बेवास्ता गरी हिलोमाथि कालोपत्रे गर्दा सडक दब्ने र भत्किने गरेको स्थानीयको आरोप छ ।
‘चारपाँच वर्षदेखि अलपत्र पारिएको सडक सोमबार रातारात कालोपत्रे गरियो, त्यही पनि हिलोमाथि गरियो र सडक भत्कियो’, सिद्धार्थनगर–९ की स्थानीय विजया गिरीले भनिन्, ‘यहाँ सरासर भ्रष्टाचार भएको छ, जिम्मेवार निकाय मौन छ, बद्बासी गर्ने ठेकेदारलाई तत्काल कारबाही होस् र सडक पुनः बनाइयोस् ।’ उनले राति बनाइएको सडक बिहान उठ्दा भत्किएको जनाइन् ।
सरकारले वर्षामा निर्माण कार्यका लागि सडक खन्न तथा कालोपत्रे नगर्न निर्देशन दिएको छ । तर, सिद्धार्थनगरमा भने संघीय सरकारले ठेक्का लगाएर बनाइरहेको सडक वर्खाको बेवास्ता गर्दै हिलोमाथि धमाधम कालोपत्रे गरिएको हो । जसले गर्दा २४ घण्टा नबित्दै कालोपत्रे गरिएको सडक भत्किएको छ, हिंडडुल गर्दा दब्ने गरेको छ । ठेकेदारले रातारात हिलोमाथि नै सडक कालोपत्रे गरेपछि स्थानीयले विरोध गरेका छन् ।१ किलोमिटर १ सय मिटर लामो उक्त सडक २४ घण्टा नटिक्दै भत्किएपछि स्थानीयमा चिन्ता थपिएको छ ।
‘वर्खा याममा हिलाम्मे भएको सडकमाथि अलकत्रा खन्याएर कालोपत्र गरिएपछि सडक तुरुन्तै भत्किएको हो । सडक मानिस हिंडडुल गर्दा पनि दब्छ भने मापदण्डअनुसारको कालोपत्रे पनि गरिएको छैन’, स्थानीय अरविन्द श्रेष्ठले भने, ‘ठेक्का सम्झौतामा ३ इन्च बाक्लो कालोपत्रे गर्ने भनिएको छ, तर ठेकेदारले डेढ इन्च मात्रै कालोपत्रे गरेको छ । जसले गर्दा हिलाम्मे सडकमाथि गरिएको कालोपत्रे टिकाउ हुने कुरै भएन र तत्कालै भत्किने र दब्ने गरेको हो ।’ स्थानीयले सडक निर्माणमा ठेकेदारले लापरबाही गरेको र मिलेमतोमा भ्रष्टाचार भएको भन्दै कारबाहीको माग गरेको छन् ।
संघीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीले सिद्धार्थनगर क्षेत्रका विभिन्न ठाउँमा सडक पूर्वाधार विकास गरिरहेको छ । नगरमा पप्पु–कोशी एण्ड न्यौपाने–शिवशक्ति जेभीले विभिन्न १८ वटा भित्री सडकको ठेक्का लिएको छ । सबै गरी साढे ११ किलोमटिर सडक उक्त ठेकेदारले निर्माण गरिरहेको हो । ३३ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको ठेकेदारले सडक निर्माणमा लापरबाही गरिरहेको भन्दै स्थानीयले विगतदेखि नै आवाज उठाउँदै आएका थिए । तर, आयोजना कार्यान्वयन ईकाईले भने मिलेमतोमा बेवास्ता गर्दै आइरहेको स्थानीयको आरोप छ ।
‘रुपन्देही क्याम्पस रोड जस्तै अन्य सडकहरुमा पनि ठेकेदारले हिलोमाथि कालोपत्रे गरिरहेको बुझिएको छ, अनुगमन र नियमन कसले गर्ने ? कहीकतैबाट ठेकेदारलाई कारबाही हुन सकेको छैन’, गिरीले भनिन्, ‘तत्काल छानविन गरी ठेकेदारलाई कडा भन्दा कडा कारबाही होस् ।’ स्थानीयको गुनासो पछि अनुगमनमा पुगेको आयोजना कार्यान्वयन ईकाईले ठेकेदारले सडक निर्माणमा त्रुटी गरेको भन्दै पुनःनिर्माणका लागि पत्रचार गर्ने जनाएको छ ।

आयोजनाका निमित्त प्रमुख सुशील रसाइलीले अनुगमनका क्रममा सडक दब्ने र केही ठाउँमा भत्किएको पाइएको जनाए । ‘हामीले वर्खामा कालोपत्रे नगर्न भनेका थियौं, अटेरी गरी काम गरेको पाइयो’, उनले भने, ‘उक्त सडक पुनःनिर्माणका लागि निर्देशन दिने तयारी गरेका छौं । सबै कालोपत्रे उप्काएर ठेकेदारले बनाउनुपर्छ ।’ ठेकेदारले सडक निर्माणमा लापरबाही मात्रै गरेको छैन, समयमा पनि काम गरेको छैन । २०७४ असार २९ मा सडक निर्माणको सम्झौता गरेको ठेकेदारले साढे ११ किलोमिटर सडक २०७९ पुस २९ भित्र निर्माण गरिसक्नु पर्ने हो । तर, म्याद सकिएको ७ महिनासम्म बल्ल ७९ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
अहिलेसम्म ठेकेदारले २६ करोड ४१ लाख भुक्तानी लगिसकेको छ । काम भने कछुवा गतिमा छँदैछ, त्यसैमाथि कमसल कालोपत्रे गर्दा सडक २४ घण्टा पनि टिक्न सकेको छैन । ‘यस्तो चरम लापरबाही गर्ने ठेकेदारलाई आयोजना कार्यालयले कारबाही गर्छ की संरक्षण ? त्यो भने केही दिन पर्खनु पर्ला’, स्थानीय श्रेष्ठले भने, ‘तत्काल ठेकेदारलाई कारबाही गरेर सडक पुनःनिर्माण गर्नुपर्छ, होइन् भने हामी चुप लागेर बस्दैनौं ।’









लेखकको सम्वन्धमा