बुटवल–नारायणगढ खण्डमा झन सास्ती


भैरहवा– मुलुककै प्रमुख पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डमा सास्ती बृद्धि भएको छ । वर्षातका कारण सडक हिलाम्य भएपछि यात्रुले थप कष्ट बेहोर्नु परिरहेको छ । उक्त मार्ग भएर साना सवारीका साधन गुडाउनै मुस्किल हुन थालेको छ । केही ठाउँमा राजमार्ग खोला जस्तो बनेको छ भने कुनै स्थानमा रोपाइँका लागि तयार गरिएको खेत जस्तो देखिन्छ ।
मोटरसाइकल, कार जस्ता हलुवाका सवारी साधनलाई अप्ठयारो बढेको छ । यात्रुलाई कहिले गन्तव्यमा पुगिन्छ भन्ने चिन्ता थपिएको छ । यस खण्डमा चार वर्षदेखि सर्वसाधरण कष्टकर यात्रा गर्न बाध्य छन् । पानी नपरेका दिन खाडल र धुलोले यात्रा मुस्किल तुल्याउँछन् । अहिले पानी परिरहेकाले सडक हिलाम्य र जलाम्य बनेको छ ।
निर्माणका क्रममा सडकका दायांँबायाँं निर्माण सामग्री राखिएको छ । जसले गर्दा पानीले निकास पाउन सकेको छैन । अहिले राजमार्गसंँग जोडिएका नवलपरासी र रुपन्देहीका मुख्य बजार जलमग्न छन् । पूर्वी नवलपरासीको गैडाकोट, भेडाबारी, रजहर, दलदले, प्रगतिनगर, सदरमुकाम कावासोती, डण्डा लगाएका बजार शनिवार जलमग्न भएका थिए ।
बजारै जलमग्न हुने गरी पानी परेपछि सडकको अवस्था झनै दयनीय बनेको छ । दाउन्नेमा पहाड काटिएको कारण हिलो बगेर यातायात पटक–पटक अवरुद्ध हुने गरेको छ । सडकको अवस्थाले निकै सास्ती खेप्नु परेको पश्चिम नवलपरासीका स्थानीय नारायण सुवेदीले बताए ।
ठुला सवारी संचालन हुन नसकेर दुई दिन अघि मात्र दुई पटक पू–र्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो भने अरुणखोलामा डाईभर्सनमा समस्या आएपछि विहान सवारी ठप्प भएको थियो । पश्चिम नवलपरासीको बर्दघाट, भूमही, सुनवल र रुपन्देहीको देवदह लगायतका क्षेत्रमा पनि सामान्य वर्षामा नै सडक र वरपरका बस्ती जलाम्य हुँदा मोठरसाइकल र कार संचालनमा निकै कठिनाई छ ।
सडक विस्तारका क्रममा भएकाले यातायात संचालनमा केही अवरोध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । नारायणगण बुटवल १ सय १४ किलोमिटर सडक विस्तारको क्रममा छ । निर्धारित समय सकिएर थप भएको एक वर्षको समय पनि सकिन लाग्दा ३९ प्रतिशत मात्र काम भएको छ ।
सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कुल रु. १६ अर्ब ९९ करोड ५२ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरि एसियाली विकास बैंकको ऋण सहयोगमा आयोजना चाइना स्टेट कम्पनीले काम गरिरहेको छ ।








प्रतिकृया दिनुहोस्