June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

रोटरी क्लब अफ क्यापिटल बुटवलको अभियानः उपहारमा कुरिलो र खुर्सानीको विरुवा

बुटवल– रोटरी क्लब अफ क्यापिटल, बुटवलले विरुवा उपहार दिएर वर्ष २०२३–२४ को शुरुआत गरेको छ। वर्ष २०२३–२४ का अध्यक्ष विश्वदिपक नेपालले शनिवार आयोजित कार्यक्रममा क्लबका सदस्यहरुलाई कुरिलो र खुर्सानीका विरुवा उपहार दिएर आफ्नो एक वर्षको कार्यकालको शुरु गरेका हुन्।

Advertisement

हरेक वर्षको जुलाई १ तारिखदेखि शुरु हुने रोटरी वर्ष २०२३–२४ को शुरुआत शनिवारदेखि भएको हो। सोही अवसरमा क्यापिटल बुटवलका अध्यक्ष नेपालले आफ्ना क्लबका सदस्यहरुलाई पर्याप्त पौष्टिक तत्व र औषधीय गुण भएको कुरिलो र खुर्सानीका विरुवा उपहार दिएर आफ्नो वर्षको शुरवात गरेका हुन्। नेपाल कृषि प्रधान देश भएर पनि हरेक वर्ष अर्बौको तरकारी आयात भइरहेको भन्दै घरघरमा गमलामा तरकारीका विरुवा लगाएर थोरै भए पनि तरकारी र खुर्सानीको आयात रोक्नुपर्ने सन्देशसहित विरुवा उपहार दिएको उनले बताए।

Advertisement

‘हरेक परिवारले घरको कौशी र करेशावारीमा खुर्सानी र कुरिलो लगाउन सके मात्रै पनि करोडौं रकम विदेश जानबाट जोगाउन सकिन्छ, कार्यक्रमहरुमा उपहारको नाममा अनुपात्दक र बाहिरबाटै आयातित वस्तु दिनुभन्दा उत्पादन दिने कुनै पनि वस्तु दिनु राम्रो हुन्छ भन्ने सन्देश दिन खोजिएको हो,’ नेपालले भने। नेपालले कौशी र करेशाबारीमा फूलसँगै कुरिलो र खुर्सानी रोपौं भन्ने सन्देशलाई वर्षैभरी अभियानको रुपमा संचालन गरिने बताए।

अध्यक्ष नेपालले यो अभियानलाई क्लबभित्र मात्र सिमित नराखी यसक्षेत्रका सबै रोटरीयनहरुका बीचमा पुर्याइने बताए। क्लबका वर्ष २०२३–२४ का एसिष्टेन्ट गभर्नर जमुना पौडेलले रोटरी क्लब अफ क्यापिटल बुटवलले उपहार स्वरुप दिएको कुरिलो र खुर्सानीका विरुवाको मूल्य सानो भएपनि यो अभियानले दिने सन्देश ठूलो भएकोले यसलाई वर्षैभरी संचालन गर्न आग्रह गरिन्।

क्लबका संस्थापक अध्यक्ष दिनेश पाण्डेले रोटरीले ठूला ठूला परियोजना संचालन गरेर मात्रै मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्न र परिवर्तन गर्न नसकिने भन्दै सानो सानो अभियान चलाउँदा पनि व्यक्ति, परिवार र समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताए।