June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

सरकारको नीतिले व्यवसाय गर्न कठिन भयोः ट्रक व्यवसायी

भैरहवा– सरकारी नीति व्यवसायमैत्री नहुँदा आफूहरु सधै समस्या परिरहेको ट्रक यातायात व्यवसायीले गुनासो गरेका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रूपन्देहीको ११ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताले राज्यको नीतिका कारण व्यवसाय गर्न कठिन रहेको र पलायन हुने अवस्था आएको दुखेसो गरे । राज्यले भारतीय ट्रक निर्वाध रुपमा चल्न पाउने नीति बनाउने तर नेपालका व्यवसायी समस्यामा पर्दा चाँसो नदिँदा समस्या भएको उनीहरुको भनाई छ ।

Advertisement

नेपाल ट्रक यातायात व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष लोकराज पोखरेलले व्यवसायीलाई नेताले भ्र्याङ बनाएर माथि उक्लिने र माथि पुगेपछि कुल्चिँदा समस्या भएको बताउँदै भारतीय ट्रकका कारण व्यवसाय गर्न कठिन भएको जनाए । सरकार नेपाली व्यवसायीमुखि भन्दा पनि भारतीय व्यवसायी मुखि भएकोले आन्दोलनमा जानुको विकल्प नरहेको अध्यक्ष पोखरेलले बताए ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले ट्रक व्यवसायमा भएका चुनौतिलाई सामना गर्दै अगाडि बढ्नु पर्ने बताए । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद खरेलले कहिले नाकावन्दीको मार, कहिले भूकम्पको प्रभाव, कहिले कोरोना महामारीका विषम अवस्थाहरुमा समेत ज्यानको बाजी राखेर विभिन्न समस्या झेल्दै कठिन परिस्थीतीको सामना गर्दै बल्लतल्ल गुज्रिदै आएको जनाए । तर, राज्यको सही नीति नहुँदा सधै दुःख भोगिरहनु परेको उनले सुनाए ।

उनले ट्रक व्यवसायी विगत ३ वर्ष यता पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल– नारायणगढ सडक खण्डको दुराअवस्थाले गर्दा अझै समस्यामा परेको बताए । ट्रकहरुमा अत्याधिक टुटफुटको खर्च आउने र डिजेलको चरम मुल्यवृद्धिको मारले गर्दा तथा उद्योग कलकारखानाहरुमा संकट अवस्थामा गुज्रीरहेकोले उत्पादन अत्यन्त कमी हुदाँ पेशा झन् धरापमा पर्दै गएको अध्यक्ष खरेलले बताए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ र लुम्बिनी ट्रक व्यवसायी संघ तथा स्थानीय संघसंस्थाको पहलमा भारतीय ट्रकको नेपालमा निर्वाध आगमनलाई रोक्ने प्रयास गरे तापनि सरकारको ७२ घण्टे नीति आफूहरुका लागि आपतीजनक सम्झौता भएको बताए । जसका कारण दैनिक हजारौ भारतीय ट्रक प्रहरी र प्रशासनिक निकायकै संरक्षणमा निर्वाध गुड्ने गरेकोले व्यवसाय थप संकटमा परेको उनले बताए । विशुद्ध नेपालीहरुको मात्र लगानी भएको ट्रक यातायात व्यवसायीमाथि बैंकको चर्को ब्याजले गर्दा धान्नै नसकेको र आत्मदाह नै गर्ने अवस्थामा पुगेको बताउँदै लगानी सुरक्षित बनाउन राज्यले अविलम्ब ध्यान दिन उनले आग्रह गरे ।