पर्यटक बढाउन पोखरा र काठमाडौंमा प्रचार


बर्दिया– बाघ अवलोकनका लागि प्रख्यात बर्दिया निकुञ्जमा पर्यटक बढाउन यहाँका व्यवसायीले काठमाडौं र पोखरामा प्रचार कार्यक्रम सञ्चालन गरेका छन् । बर्दियाको ठाकुरद्वाराबाट गएको पर्यटन व्यवसायीको टोलीले यस्तो प्रचार गरेको हो ।
ठाकुरद्वारास्थित नेचर गाइड एशोसिएशन, होटल एशोसिएशन नेपाल, बर्दिया शाखा र टुरिजियम डेभलपमेन्ट फोरमको आयोजनामा प्रचार अभियान सञ्चालन गरिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज ल्याण्ड अफ टाइगर, ‘देशको शान, अन्तर्राष्ट्रिय पहिचान, नाराका साथ पर्यटन व्यवसायीले प्रचार गरेका थिए । पोखरा पर्यटन परिषदसँग भएको कार्यक्रममा बर्दियाका प्रकृति पथ द्वारा खिचिएका वन्यजन्तुहरुको तस्विर र भिडियो प्रदर्शन गरिएको होटल एशोसियन बर्दियाका अध्यक्ष मोहन चौधरीले बताए ।
कार्यक्रममा पर्यटक गाइड रामबहादुर शाही, रामजनम चौधरी, शुशिला महतारा, कृष्ण शाह र फ्रेन्च टुरिष्ट गाईड सुनिल तण्डुकारद्वारा वन्यजन्तुको अवलोकन र अनुभवका सुनाएका थिए । बर्दिया आउने पर्यटकलाई पोखरा जान प्रोत्साहन गर्ने र पोखरा आएका पर्यटकलाई बर्दिया भित्राउन एक अर्कालाई सहयोग गरिने भएको छ ।
बर्दिया निकुञ्जमा सहजै बाघ हेर्न सकिने, प्राकृतिक मनोरम दृष्यले भरिपूर्ण भएकाले एकपटक यहाँ पर्यटक आउनु पर्नेमा जोड दिइएको छ । बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ त्यसै हाराहारीमा हात्ती, ३८ वटा गैडा लगायत वन्यजन्तु रहेका छन् । आइतवार बर्दियाका पर्यटन व्यवसायी प्रचार प्रसारका लागि काठमाण्डौ पुग्नेछन् । नेपाल पर्यटन बोर्डको आयोजनामा त्यहाँ बर्दियामा पर्यटक कसरी बढाउन सकिन्छ भन्दै छलफल गरिने पर्यटन व्यवसायी चौधरीले बताए ।








प्रतिकृया दिनुहोस्