ओमसतियामा बजार अनुगमन: अधिकांश व्यवसाय दर्ताबिनै संचालित


भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिकाले वडा नम्बर १ ठुटिपिपलमा रहेका ब्यवसायिक पसलहरुमा अनुगमन गरेको छ । अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, लेखा अधिकृत कमल शर्मा, उद्योग ब्यवसाय, संघसंस्था तथा राजस्व शाखाकी अमृता पाण्डे लगायतको टोलीले बिहीबार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश व्यवसाय पालिकामा दर्ता नभई संचालनमा रहेको पाइएको छ । त्यस्ता व्यवसाय संचालन गर्ने व्यवसायीलाई पहिलोपटक भनेर दर्ताका लागि निर्देशन दिइएको छ ।
गाउँपालिकामा सञ्चालित ब्यवसायहरुले मापदण्ड पुरा गरेनगरेको, दर्ता भएनभएको, गुणस्तर, मूल्यसूचि लगायतको बिषयमा अनुगमन गरिएको जनाइएको छ । अनुगमन समिति संयोजक चौधरीका अनुसार यसलाई अब निरन्तर रुपमा अगाडि बढाइने छ । ‘वडा नम्बर १ देखि अनुगमनको सुरुवात गरेका छौं, यसलाई क्रमशः अन्य वडामा लैजाने छौं’, उनले भनिन्, ‘गाउँपालिकामा दर्ता नभएका धेरै ब्यवसाय भेटियो, पहिलो पटक भएकाले दर्ता गर्ने निर्देशनसहित छाडेका छौं ।’
चौधरीले गाउँपालिका अन्तर्गतका सबै उद्योग, ब्यवसायिक संस्था लगायत अन्य पसललाई पनि पालिकामा दर्ता हुन आग्रह गरिन् । गाउँपालिकाको आन्तरिक राजस्व तर्फ ब्यवसाय दर्ताले बिशेष महत्व राखेको उनको भनाई छ । योजना र बजेट खोज्ने नागरिकले नियम अनुसारको कर तिर्ने दायित्व पनि पुरा गर्न उनले आग्रह गरिन् । आगामी दिनमा दर्ता मात्र नभई पालिका अन्तर्गतका अन्य निकायमा पनि कडाईका साथ अनुगमन गरिने उनले बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले पालिकामा सबै ब्यवसाय र उद्योग दर्ता गर्न अनिवार्य रहेको बताए । क्षेत्रीले पनि समयमै पालिकामा ब्यवसाय दर्ता गरि गाउँपालिकालाई सहयोग गर्न आग्रह गरे ।








प्रतिकृया दिनुहोस्