June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

नदीजन्य पदार्थको चोरी उत्कर्षमा

पाल्पा– रुपन्देहीको छिमेकी पाल्पाका विभिन्न नदी र खोलाबाट नदीजन्य पदार्थको चोरीनिकासी उत्कर्षमा पुगेको छ । अहिले खोलामा खाली ठाउँ देख्यो कि उत्खनन् गर्न थालिएको छ ।

Advertisement

चुरे र महाभारत पर्वत श्रृंखला अन्तर्गतका यी नदी र खोलाबाट उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्यांकन समेत गरिएको छैन । जनप्रतिनिधि, निर्माण व्यवसायी र समाजिक अगुवाको मिलोमतोमा उत्खनन भइरहेको छ । जनप्रतिनिधिले नियमप्रति आँखा चिम्लिएर नदी, खोलामा मेसिन प्रयोग अनुमति दिइरहेका छन् । यसमा बिरोध जनाउनु पर्ने नागरिक समाजका अगुवाको सहमती हुने गरेको छ ।

Advertisement

तानसेन नगरपालिकाको अर्गली, बौघागुम्हा, बगनासकालीको खानीछाप, यम्घा, रम्भाको हुँगीका साथै रामपुर नगरपालिकाभित्र पर्ने गेझा, रामपुर, दर्छा लगायत दर्जन बढी घाट क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी भइरहेको छ । कतिपय स्थानमा प्रहरीले नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ ट्याक्टर, ट्रिपर पक्राउ गरेको पाल्पा प्रहरीले जनाएको छ ।

कालीगण्डकी नदीबाट पनि नदीजन्य पदार्थको चोरीनिकासी बढेको छ । नदीको प्रारम्भिक वातावरणीय परीक्षण नगरेका विभिन्न घाटमा सर्वोच्च अदालतले नदीजन्य पदार्थ निकाल्न रोक लगाएका स्थानबाटसमेत अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी भएको हो । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले नदीजन्य पदार्थ चोरी निकासीमा समाजका प्रतिष्ठित व्यक्तिकै हात हुने गरेको गुनासो आएको बताए ।