June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

रोहिणीमा स्वास्थ्य चौकी भवन निर्माण सुरु

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको छ । रोहिणी–२ स्थित खरबिन्द टोलमा निर्माण हुने स्वास्थ्य चौकी भवनको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले शिलान्यास गरेका छन् ।

Advertisement

भवन शिलान्यास पश्चात बोल्दै गाउँपालिकाका अध्यक्ष यादवले रोहिणी–२ र समग्र रोहिणीको विकासका लागि अघि बढेको बताए । उनले वडा नम्बर २ का वडाबासीलाई नजिकबाटै सुविधासम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण हुने बताए । अध्यक्ष यादवले रोहिणी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियानका साथ अगाडि बढेको बताए । ‘१५ शय्याको अस्पताल बनाउने लक्ष्य छ । त्यसका साथै विभिन्न स्थानमा हाईमास्ट लाईट जडान गरिएको छ’, उनले भने, ‘७ वटै वडामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सम्पूर्ण धर्म संस्कृतिको संरक्षण गर्दै अघि बढेका छौं ।’

Advertisement

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले ४ कठ्ठा जग्गामा स्वास्थ्य चौकी भवन निर्माण हुने जानकारी दिए । उनले गाउँपालिकामा विकास निर्माण कार्य तीव्रताका साथ अघि बढेको बताए । उनले भने, ‘गाउँपालिकामा विकास निर्माण कार्य अघि बढेको छ ।’ उनले गाउँपालिका भवनको टेण्डर प्रक्रिया अघि बढेको जानकारी दिए ।

रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले वडा नम्बर २ मा स्वास्थ्यसँगै शिक्षा तथा भौतिक पूर्वाधार निर्माण कार्य अघि बढेको बताए । उनले स्वास्थ्य चौकी भवन सकेसम्म २ वर्षमा निर्माण कार्यसम्पन्न हुने बताए । उनले भने, ‘यो बहुवर्षिय योजना हो । नागरिकलाई स्वास्थ्य परीक्षणमा सहजता प्रदान होस् भन्ने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण कार्य अघि बढेको हो ।’

रोहिणी–२ की वडा सदस्य प्रभावति नाउले गाउँपालिका अध्यक्ष र वडाअध्यक्षको सहकार्यमा राम्रो काम भइरहेको बताइन् । उनले भनिन्, ‘विगत पाँच वर्षमा नभएको काम अहिले भइरहेको छ ।’ गाउँपालिकाका योजना शाखाका सव–इञ्जिनियर राजकुमार मिश्राले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण र सामाजिक विकासमा ध्यान दिएको बताए । उनले स्वास्थ्य सेवामा नागरिकलाई पहुँच पुर्याउने उद्देश्यले ‘स्वास्थ्य नै धन हो’ भन्ने नाराकासाथ स्वास्थ्य चौकी भवन निर्माण कार्य अघि बढेको बताए । उनले भने, ‘गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव र वडाअध्यक्ष करम हुसेन खानको नेतृत्व तथा अगुवाइमा विभिन्न विकास निर्माण कार्य अघि बढेका छन् ।’

स्थानीय कान्छा कोहारले गाउँपालिकाले १ वर्षको अवधिमा विभिन्न कार्य गरेको बताए । उनले ठाउँठाउँमा सडक बत्ती जडान, सडकलगायत विभिन्न क्षेत्रमा काम भएको बताए । उनले रोहिणीलाई नमूना गाउँपालिका बनाउन र समग्र गाउँपालिकाको विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । स्थानीय शेषमणि यादवले जनप्रतिनिधिले जनतामाझ गरेको वाचा क्रमशः पूरा गर्दै गएको बताए । उनले भने, ‘जनप्रतिनिधिले गरेका कामको जनताले मूल्यांकन गर्नेछन् ।’

स्थानीय मकसुद खानले जनप्रतिनिधि निरन्तर जनतामा सेवा खटिएको बताए । उनले भने, ‘विगतमा नभएका काम अहिले भएको छ । यसका लागि रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानलाई धन्यवाद दिन चाहन्छु ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले स्वास्थ्य चौकी भवन निर्माणका लागि रु. १ करोडको संघीय बजेट रहेको र त्यसमा पालिकाले अलिकति योगदानमा गरौं भनेर रु. १ करोड २५ लाखको ईस्टिमेट तयार गरिएको बताए । उनले भने, ‘रु. ८५ लाखमा ठेक्का सम्झौता भएको छ । असार मसान्तसम्म रु. ८५ लाखको काम हुनेछ । डीपीआर तयार गरेका छौं । झण्डै ३ करोडको छ । आगामी वर्षमा थप रकम विनियोजन गरेर भवनको माथिल्लो तल्लाको काम हुनेछ ।’