लघुबित्तपीडितको रूपन्देहीमा निरन्तर सभा र धर्ना तर सुन्दैन सरकार


भैरहवा– सेवाग्राहीको बाक्लो भीड हुने जिल्ला प्रशासन । त्यसैमाथि लघुवित्तपीडितको निरन्तरको धर्ना र नारा । अहिले जिल्ला प्रशासन कार्यालय, रुपन्देही अगाडि लघुवित्तपीडितले दैनिक धर्ना दिइरहेका छन् । आफूहरुलाई न्याय दिलाउन सरकारसँग हारगुहार गर्छन् । तर, सरकार सुनेर पनि नसुनेझैं गरिरहेको छ ।
प्रशासनको गेटबाट दैनिक प्रमुख जिल्ला अधिकारी, अधिकृत र सुरक्षा निकायका ‘हाकिम’हरु ओहोरदोहोर गर्छन् । कसैले पनि उनीहरुका माग सुन्ने कोसिस गर्दैनन् । चैत्रको अन्यतिरको चर्को गर्मीमा पाल टाँगेरै पीडित आन्दोलित छन् । घाँटी सुक्ने गरी चिच्याउँदै आफ्नो माग सम्बोधन गर्न हारगुहार गरिरहेका छन् ।
लघुबित्तबाट ऋण लिएर तिर्न नसक्दा सम्पत्तिबिहीन भएका पीडितले प्रशासन अगाडि धर्ना दिन थालेको एक साताभन्दा लामो समय भएको छ । जिल्ला प्रशासन अघि धर्नाका कार्यक्रमलाई उनीहरुले निरन्तर गर्ने जनाएका छन् । लामो समय लघुबित्तका कर्मचारी छल्न घरबाट टाढा लुक्दै आएको बताउने उनीहरुले न्याय माग गर्दै प्रशासनमा धर्ना दिन थालेका हुन् । जिल्ला प्रशासन मार्फत् सम्बन्धित निकायलाई माग पूरा गर्न दबाब दिने उद्देश्यले धर्ना र प्रदर्शन गरिरहेको उनीहरुले बताए ।
लघुवित्तविरुद्ध संघर्ष समितिका लुम्बिनी प्रदेशका उपाध्यक्ष बद्री देवानले बिगत ९ दिनदेखि संघर्ष जारी रहेको बताए । उनका अनुसार पीडितले दैनिक र्याली प्रदर्शन र धर्ना गरिरहेका छन् । उनका अनुसार पश्चिन नवलपरासी, रुपन्देही, बाँके र बर्दियाका पीडित अहिले धर्ना बसिरहेका छन् । लघुबित्तले तनाव दिने, मर्न बाध्य बनाउने, परिवारमा सम्बन्ध बिगारिदिने जस्ता कार्य गरिरहेकाले मुलुकभरका पीडित संगठित भएर धर्ना बसिरहेको देवानले बताए ।

‘रातदिनको टर्चरले घरमा बस्ने वातावरण छैन’, उनले भने, ‘हामी मर्नभन्दा बाध्य भएर आन्दोलित भएका हौं ।’ उनका अनुसार लघुबित्तले गाउँमा पुगेर ५ जनाको महिला समूह बनाउने, एक लाखका दरले सुरुमा ऋण दिने, तिर्ने बेलामा एक जनाले नसके सबैबाट असुल्ने प्रवृत्ति देखिएको जनाए । पीडित जिल्ला प्रशासनमा समस्याबाट छुटकारा माग गर्दै धर्नामा छन् । लघुवित्त संस्था खारेज गर, नागरिक मार्न पाइँदैन, लघुवित्त कर्मचारी होसियार, सामूहिक ऋण मिनाहा गर आदि नारा लगाउँदै उनीहरुले सिद्धार्थनगरमा नाराबाजीसहितको र्याली आयोजना गरिरहेका छन् ।
बुधबार मात्रै भएको उक्त र्यालीमा ४ सय महिला उपस्थित रहेका थिए । ३० जनाजति पुरुष सहभागिता थियो । उनीहरुले लाइनबद्ध भएर सिद्धार्थनगरको हाटबजार परिसर हुँदै जिल्ला प्रशासनमा धर्ना दिन दिएका थिए । उनीहरुको धर्ना बुधवार ८ दिन पुरा भएको छ । सरकारले माग सम्बोधन नगरेसम्म धर्ना र आन्दोलन गरिरहने पीडितको भनाई छ । उक्त मासमा जिल्लाको रोहिणी, मायादेवी, गैडहवा, मर्चवारी, सैनामैना, बुटवल, ओमसतिया, सम्मरीमाई, लुम्बिनी, कोटहीमाई आदि स्थानीय तहका बासिन्दाको उपस्थिति थियो ।








प्रतिकृया दिनुहोस्