June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

सिद्धार्थनगर : गठबन्धनभित्रको उत्साह र विपक्षीको सन्नाटा

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै फरक परिदृष्यले कतिपय राजनीतिक दलहरुमा पहिरो जान थालेको छ भने कुनैमा उत्साहको रौनकता छाएको छ । चुनाब हुन अब मात्र तीन दिन बाँकी छ । केही राजनीतिक दलहरुलाई अन्तिम घडीमा आएर चुनाबी वातावरण अत्यन्तै तनावपूर्ण बन्दै जान थालेको छ । नेपाली कांग्रेस भित्र शुरुका दिनमा तिक्तता र असन्तुष्टि बढेको थियो । तर, अहिले कांग्रेस भित्र चुनावी माहोल भिन्न खालको छ ।

Advertisement

सिद्धार्थनगर कांग्रेसका पुराना हस्ती मानिने दीर्घराज काप्mले, बिजय शर्मा, दीपक क्षेत्री न्यौपाने, शुरेन्द्रजंग थापा, महेन्द्रकुमार श्रेष्ठलगायतका नेताहरु अहिले चुनाव प्रचारमा अहोरात्र खटिनु कांग्रेसका नयाँ पिँढीहरुका लागि उत्साह र प्रेरणाको स्रोत बनेको छ भने युवा जगतमा निक्कै उर्जा थपेको छ । वास्तवमा सिद्धार्थनगरमा कांग्रेसको पकड मजबुत मानिन्छ । यसका क्रियाशील सदस्य मात्रै १ हजार ७ सय भन्दा बढी छन् । क्रियाशील सदस्य भनेको नेपाली कांग्रेसका क्याडर हुन् । लिडर र भोटरको बीचमा क्याडरले पुलको रुपमा काम गर्छ । जुन पाटीर्को एउटै स्थानीय निकायमा यत्रो संख्यामा क्याडर हुन्छन् भने त्यो पार्टीको सामथ्र्यका बारेमा आफै अनुमान लगाउन सकिन्छ ।

Advertisement

तर, यत्रो क्याडरको जमात हुँदाहुँदै पनि कांग्रेसका लागि बिगत सन्तोषजनक रहेन । जसको एउटै कारण घात–अन्तर्घात र विपक्षीको नारामा रनभुल्ल हुनु । कांग्रेस बलियो हुँदाहुँदै पनि निरन्तर पराजयको श्रृंखला दोहोरियो, अनि फेरि दोहोरियो । त्यही चेत खाएर होला अहिले कांग्रेसजन एक भएका छन् भने कांग्रेसको अहिलेको एकता देखेर विपक्षी दलको चुनाब जित्ने सपनामा ठेस लागेको छ । वास्तवमै अहिले एक हुनुको विकल्प पनि छैन ।

निरन्तरको घात–अन्तर्घातको खेलले भोलि कसैको राजनीतिक यात्रा सुनिश्चित छैन भन्ने कुरा अहिले बल्ल आएर कांग्रेसजनले बुझ्नुले कांग्रेसका उम्मेदवारलाई बिजयको नजिक पुर्याएको छ । कांग्रेस अहिले एक ढिक्का बनेको छ । यो ढिक्का निरन्तर रहनुपर्छ । हिजोको कांगे्रस–माओवादीको भैरहवा नै ढाक्ने जुलुसले पनि त्यस्तै देखाएको छ । जुन विपक्षीका लागि दिनको भोक न रातको निन्द्रा बनेको छ ।

फुटाएर जित्ने रणनीति तुहियो
संगठनात्मक दृष्टिकोणले सिद्धार्थनगरमा कांग्रेस सबैभन्दा बलियो पार्टी हो । त्यसपछि नेकपा एमाले हो भने राप्रपा तेस्रोमा आउँछ । त्यसै पनि दोस्रो स्थानको एमाले पार्टी बिभाजनपछि केहि अप्ठेरो अवस्थामा छ । अघिल्ला चुनावहरुमा जस्तै कांग्रेसको भोट चोरेर चुनाब जित्ने दाउको एमाले अहिलेको कांग्रेसी एकता देखेर तिलमिलाएको छ । धार्मिक र जातीय द्वेष फैलाएर भोट कमाउने योजना पनि विफल बनेको छ । कांग्रेस भोटले चुनाव जित्ने उसको रणनीति यसपाली बिरवलको खिचडी बन्दैछ । अर्कोतर्फ नारायणप्रसाद भण्डारी एमालेभित्रका आशा लाग्दा नेता थिए । कोरोना कहरमा उनले ठूलो ख्याती कमाएका थिए । त्यो कष्टकर बेलाको उनको जनसेवाले चर्चाको शिखरमा पुर्याएको थियो । उनलाई माओवादीबाट आएको नयाँ मान्छे भन्दै अन्तिम समयमा आएर टिकटबाट बञ्चित गर्नाले संगठनभित्र अर्को खाडल बन्न पुग्यो ।

उनको उम्मेदवारी अन्य उम्मेदवारहरुलाई निक्कै भारी पर्न सक्ने अनुमान व्यापक थियो । चुनावपछि उनलाई पार्टी कारवाही भन्ने हल्लाले पनि अर्को तरंग श्रृजना गरेको छ । अर्कोतफ असीको उमेरलाई राजनीतिक शास्त्रमा ‘एक्स्पाएर’ भन्ने गरिन्छ । जल्दाबल्दा युवा उम्मेदवार हुँदाहुँदै पनि वृद्ध मान्छेलाई उम्मेदवार बनाउँदा कुनै उत्साह नदेखिनु स्वभाविक कुरो हो । एमाले भित्र खारिएका र पुराना मान्छे प्रशस्त छन् । तर उपमेयरमा पनि त्याग र समर्पण गरेका मानिस छँदाछँदै शक्तिश्रोतलाई टिकट दिएकोमा त्यसमा पनि खिचडी पाक्न सकेको छैन । जसका कारण एमालेमा सन्नाटा छाएको छ ।

राप्रपा : संगठन शुन्य, संधै अरुको भर
कांग्रेस–एमालेपछिको तेस्रो ठूलो दल राप्रपा मानिन्थ्यो । तेस्रो भए पनि कांग्रेस–एमाले भन्दा धेरै मतान्तरको भिन्नता छ । त्यसमाथि अहिले धेरै परिवर्तन भैसकेको छ । कुनै समयको तेस्रो शक्ति मानिने राप्रपा अहिले जसपा भन्दा पनि खस्केको अवस्थामा छ । कारण, संधै एउटै व्यक्तिको नेतृत्व । राप्रपाको केन्द्रमा नेतृत्व परिवर्तन भए पनि नगरमा भने उही पुस्तैनी नेतृत्वको धङधङी छ । जसले संगठन बिस्तारमा कुनै तरंग ल्याउन सकेको छैन । राप्रपाले नयाँ क्याडर उत्पादन गर्न सकेको छैन ।

संगठन कमजोर, क्याडरको अभाव, पुरानै शैली, निरन्तर एउटै उम्मेदवार आदि जस्ता कारणहरु राप्रपाका लागि घातक बनेको छ । कहिले एमालेको भोटको सहारा त कहिले कांगे्रसीको सहाराको त्रिकाठीमा उभिएको राप्रपा अहिले खोलो तर्दा बीचमा पुगेको यात्रीझैं न अगाडि बढ्नु, न पछाडी फर्कनुको अवस्थामा छ । यस्तो अवस्थामा चुनाव जित्नु उसका लागि फलामको चिउरा चपाए सरह हो ।

अवसरको हिरा
निश्चित रुपमा सिद्धार्थनगर कांग्रेसलाई अहिले ठूलो राहत र अवसर छ । आफैमा बलियो कांग्रेसका लागि यो क्षण सुनौलो हिरा छोप्ने अवसर हो । जुन उत्साह अहिले कांग्रेसजनमा देखिएको छ, यस्तो बिरलै देख्न मिल्छ । एउटा क्रियाशील सदस्यले कम्तिमा चार भोट सक्रिय गराउन सके पनि झण्डै ७ हजारको हिसाब हुन आउँछ । यसबाहेक क्रियाशील नभएका कांग्रेसजन भैरहवामा यो भन्दा बढी छन् । त्यसमाथि नेकपा माओवादीसंगको गठबन्धनले झनै बलियो अवस्थामा पुगेको छ ।

माओवादीमा पनि उर्जाशील कार्यकर्ता उत्तिकै छन् । राप्रपाको कमजोर संगठन, एमालेमा बिभाजन, माओवादीसँगको एकता, नयाँ, मिजासिला, स्वच्छ छवि, शालीन उम्मेदवार, मधेशी, मुस्लिमदेखि हिमाली–पहाडी मतदाताको आकर्षण आदिका कारण कांग्रेस र माओवादीका उम्मेदवार जितको नजिक पुगेका छन् । यस्तो स्वर्णीम अवस्थामा कांग्रेस–माओवादीले विपक्षीले फैलाउन सक्ने जातीय र साम्प्रदायिक षड्यन्त्रलाई चिर्दै अगाडि बढ्न सक्नुपर्छ । माओवादीले पनि लामो समयदेखि सिद्धार्थनगरमा आफ्नो उपस्थिति देखाउन सकेको छैन । त्यसैले गठबन्धनलाई सार्थकता दिन कांग्रेस–माओवादीले आफ्ना कार्यकर्तालाई दह्रो निदेर्शन दिनुपर्छ ।