कांग्रेस रुपन्देहीको अभियान : ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’


भैरहवा– स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुले विभिन्न रणनीति बनाइरहेका छन् । जसरी हुन्छ पार्टीलाई जिताउने गरी दलहरुले योजना बनाएर लागिरहँदा नेपाली कांग्रेस रुपन्देहीले भने घरघर जाऔं, कांग्रेस जिताऔं भन्ने अभियान सफल पार्ने बिभिन्न कार्यक्रम गर्ने भएको छ ।
स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई बढी भन्दा बढी सिटमा जिताउन केन्द्रिय समितिले सुरु गरेको घरघर जाऔं कांग्रेस जिताऔं अभियानलाई सफल बनाउन रुपन्देही कांग्रेसले पनि अभियान चलाउने भएको हो । कांग्रेस केन्द्रिय कार्यसमितिको २५ गते बुधबार बसेको बैठकले देश भर ७७ वटै जिल्लामा केन्द्रिय सदस्य प्रतिनिधिको रुपमा खटाएको छ ।
काँग्रेस केन्द्रिय समितिको निर्णय बमोजिम रुपन्देही जिल्लाको लागि केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय समिती सदस्य, पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा आउने भएका छन् ।
अभियान फागुन २९ देखि चैत्र २९ सम्म १ महिनासम्म हुने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । जनताको कुरा सुन्न कांग्रेस घर–घरमा जानको लागि २९ गते राणाको उपस्थितिमा पार्टीको आम भेला राखिएको उनले जानकारी दिए ।
फागुन २९ गते भेला र ३० गते बैठक राखिएको छ । उक्त भेलाको लागि कांग्रेस रुपन्देहीले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरु, उपमहानगर नगरपालिका, गाँउपालिका, वडा तहका सम्पूर्ण पदाधिकारी, सदस्य र अन्य क्रियाशील सदस्यहरुलाई भैरहवा पार्टी कार्यालयमा उपस्थितिको लागि कांग्रेसले आह्वान गरेको छ ।








प्रतिकृया दिनुहोस्