June 20, 2026, Saturday
२०८३ असार ६ शनिबार

पोखरेल परिवारलाई लाभैलाभ

भैरहवा– एमालेको १०औं महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय सदस्यको नामावली तयार पार्न दिएको समूहको अग्रमोर्चामा थिए, शंकर पोखरेल । चलाखीपूर्ण राजनीति गर्ने पोखरेलले श्रीमती र बहिनीलाई पनि केन्द्रिय कमिटी सदस्य बनाउन सफल भए ।

Advertisement

ओलीको विश्वास पात्र मात्रै होइन्, पोखरेल नाताले ओलीको साडुुभाइ पर्छन् । ओली श्रीमती राधा शाक्य र पोखरेल श्रीमती सुजिता शाक्य दुुईभाइका छोरीहरु हुन् । पोखरेलमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको पनि आशीर्वाद भएको बताइन्छ । पार्टी राजनीति देखि नै भण्डारीले पोखरेललाई माया र विश्वास गर्थिन् ।

Advertisement

पोखरेलले श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई केन्द्रीय सदस्य बनाउन सफल भएका छन् । जवकी अब्बल कहलिएका कयौं नेता केन्द्रिय सदस्यसमेत हुन् पाएनन् । ओलीका विश्वास पात्र मानिएका पोखरेल महासचिव निर्विरोध चुनिएका छन् ।

यसलाई धेरैले आगामी ११ औं महाधिवेशनमा ओलीले पोखरेललाई अध्यक्षमा अघि सार्ने योजनासहित महासचिव बनाएको अथ्र्याएका छन् । हुन् पनि हो, अध्यक्ष पछिको शक्तिशाली मानिएको महाचिव पोखरेलको पोल्टामा परेको छ । ९ औं महाधिवेशनमा उपमहासचिवमा पराजित पोखरेल १० औंमा एक तह बढुवा हुँदै महासचिव जस्तो पद हत्याउन सफल भए ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेल ओलीकै कारण सत्ताबाट बहिर्गमित भएका हुन् । सायद ओलीले संसद विघठन नगरेको भए, आज पोखरेल सत्ताको बागडोरमै हुन्थे । जबजका ब्याख्याता र शालीन स्वभावका मानिने पोखरेलले श्रीमती र बहिनी नै केन्द्रिय सदस्य बनाएपछि धेरैले उनको आलोचना गरेका छन् ।

एमालेका निवर्तमान अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेका तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेको सम्भवतः यही मात्रै घटना हो र एमाले इतिहासमा पनि पहिलो हो । पोखरेल श्रीमती शाक्य समानुपातिकबाट प्रतिनिधि सभा सदस्य छन् भने बहिनी मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन् ।